समाचार

के बालेनले अनावश्यक राजनीतिकरणका लागि आफैंले स्ट्याटस हटाएका थिए?

के बालेनले अनावश्यक राजनीतिकरणका लागि आफैंले स्ट्याटस हटाएका थिए?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) द्वारा पहिला हटाएको भनिएको पोस्ट पुनः फेसबुकमा देखा परेपछि, उनले पुनः विवादमा तानिएका छन्। उक्त पोस्टमा बालेनले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि बालश्रम शोषण र घरेलु हिंसाका आरोप लगाउँदै सरकार र न्यायालयलाई आलोचना गरेका थिए। यसअघि बालेनले सिंहदरबार जलाउने धम्कीसम्बन्धी विवादास्पद पोस्ट आफैंले हटाएका थिए। तर, अहिले पुनः सांसद शर्मासम्बन्धी स्ट्याटस देखा परेपछि, आलोचकहरूले यसलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्।

पुनः देखा परेको स्ट्याटस:

"वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, वहाँले बिगत ८ वर्षदेखि एकजना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ। काठमाडौं महानगरले बिगत २ महिनादेखि कारबाही अघि बढाएको छैन। अदालतले पनि मुद्दा चलाऊ भनेको छ। सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओलीज्यू, सुशासन भनेको अदालतले पनि समाउन भनेको सांसद रेखा शर्मालाई बाल शोषणको मुद्दामा समाउनु हो। सायद तपाईँको लागि सुशासनको अर्थ बालिकाको मृत्यु पछि फेसबुकमा समवेदना पोस्ट गर्नु र एक लाख रुपैयाँ घोषणा गर्नु नै होला। कहिले समाउने? कि नसमाउने?"

यो स्ट्याटस फेसबुकबाट हराएपछि बालेनले अर्को पोस्ट गर्दै सरकारलाई चुनौती दिएका थिए। उनले लेखेका थिए, "पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार। म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ।"

तर बालेनको यो पोस्ट हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै भूमिका नभएको भनेर धेरैले आलोचना गरेका छन्। आलोचकहरूका अनुसार, फेसबुक पोस्ट हटाउने वा राख्ने अधिकार प्रधानमन्त्रीसँग हुँदैन, र बालेनले यसलाई राजनीतिक रंग दिने प्रयास गरेको आरोप लागेका छन्। आलोचकहरूले बालेनकै निर्देशनमा प्रधानमन्त्रीविरुद्ध "अनफलो" अभियान चलाइएको दाबी पनि गरेका छन्।

उनीहरूले भनेका छन्, "बालेनले आफूले सिंहदरबार जलाउने पोस्ट हटाएझैं, अहिले पनि आफैं पोस्ट हटाएर प्रधानमन्त्रीलाई दोषारोपण गरेका छन्। यसले जनतालाई भुलाएर राजनीतिक फाइदा लिन खोजिएको हो।"

बालेनको अन्य विवादास्पद कदमहरू:

बालेनले काठमाडौं महानगरको मेयर बनेपछि अवैध संरचनाहरू हटाउन थालेको "बुलडोजर अभियान" ले साना व्यवसाय र घरहरूमा ठूलो असर पुर्याएको भन्दै आलोचना भएको थियो। त्यस्तै, फोहोर व्यवस्थापनको समस्यामा सरकारलाई दोष लगाउँदै उनले माओवादी पार्टी कार्यालय अगाडि फोहोर थुपारेर विरोध जनाएका थिए। साथै, सडक विभागसँगको विवादमा विभागको गेटमा फोहोर थुपारेर विरोध देखाएका थिए।

सिंहदरबार जलाउने धम्की दिएपछि उनी थप विवादमा आए, र अहिले बालश्रम शोषणमा सांसद रेखा शर्माको नाम जोडेर सरकारलाई कडा आलोचना गर्दै आएका छन्।

प्रधानमन्त्रीविरुद्धको "अनफलो" अभियानले सामाजिक सञ्जालमा व्यापक चर्चा बटुलिरहेको छ, तर यसले राजनीतिक रूपमा कस्तो प्रभाव पार्ने हो, त्यो भने समयले नै बताउने छ।

बालेन्द्र शाह