विदेश

इजरायलले ट्रम्पलाई ‘यहुदी जनताको सबैभन्दा ठूला मित्र’ भन्दै नेसेटमा सम्बोधन गर्न औपचारिक आमन्त्रण!

इजरायलले ट्रम्पलाई ‘यहुदी जनताको सबैभन्दा ठूला मित्र’ भन्दै नेसेटमा सम्बोधन गर्न औपचारिक आमन्त्रण!

इजरायलको संसद (नेसेट) का अध्यक्ष अमिर ओहानाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नेसेटमा सम्बोधन गर्न औपचारिक आमन्त्रण गर्दै उनलाई “आधुनिक इतिहासमा यहुदी जनताको सबैभन्दा ठूलो मित्र र सहयोगी”को रूपमा सम्मान गरेका छन्। बिहीबार सार्वजनिक गरेको औपचारिक पत्रमार्फत ओहानाले ट्रम्पको नेतृत्व, नीतिगत दृष्टि र इजरायलप्रतिको दृढ समर्थनको प्रशंसा गर्दै उक्त आमन्त्रण पठाएका हुन्।

पत्रमा ओहानाले लेखेका छन्, “इजरायलका जनताले राष्ट्रपति ट्रम्पलाई आधुनिक इतिहासमा यहुदी राष्ट्रका सबैभन्दा ठूला मित्रका रूपमा हेर्छन्। उहाँलाई नेसेटमा सम्बोधन गर्न बोलाउनु मेरो व्यक्तिगत सम्मान हो।” उनले थपे, “यदि ट्रम्पले यो निमन्त्रण स्वीकार गर्नुभयो भने, उहाँ सन् २००८ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसपछिका पहिलो अमेरिकी राष्ट्रपति हुनेछन्, जसले नेसेटलाई प्रत्यक्ष सम्बोधन गर्ने अवसर पाउनेछन्।”

ओहानाले पत्रमा ट्रम्पका इजरायल समर्थक निर्णयहरूलाई ऐतिहासिक उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले ट्रम्पको कार्यकालमा अमेरिकाले जेरुसेलमलाई इजरायलको “अनन्त राजधानी”का रूपमा मान्यता दिएको, त्यहाँ अमेरिकी दूतावास सारिएको, गोलान हाइट्समाथि इजरायली सार्वभौमिकता स्वीकृत गरिएको र अब्राहम सम्झौतामार्फत अरब मुलुकहरूसँग सम्बन्ध सामान्यीकरण भएको उल्लेख गरेका छन्। साथै, इरानका आणविक कार्यक्रममाथि नियन्त्रण कायम गर्न ट्रम्पले खेलेको भूमिका पनि उनले विशेष रूपमा स्मरण गरेका छन्।

ओहानाका अनुसार, “शान्ति सधैं बल र दृढ नीतिबाट आउँछ भन्ने तथ्य ट्रम्पले आफ्ना कदमबाट प्रमाणित गरेका छन्।” उनले यो पनि जोड दिएका छन् कि इजरायलको हालको “राजनैतिक र कूटनीतिक सफलता” ट्रम्प, प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इजरायली सेनाको संयुक्त प्रयासको परिणाम हो।

यसैबीच, सिएनएनले उद्धृत गरेको इजरायली सरकारी स्रोतका अनुसार, अमेरिकी मध्यस्थतामा गाजा युद्धविराम सम्झौताको पहिलो चरण कार्यान्वयनमा प्रवेश गरिसकेको छ। जेरुसेलममा सम्पन्न सरकारी बैठकमा राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जारेड कुसनर पनि उपस्थित थिए। सो बैठकमा इजरायली मन्त्रिपरिषदले सम्झौतालाई स्वीकृति प्रदान गर्दै यसलाई “ऐतिहासिक अवसर” को रूपमा वर्णन गरेको छ।

इजरायल सरकारका प्रवक्ताले ट्रम्पको मध्यस्थताले मध्यपूर्वमा शान्तिको नयाँ अध्याय खोलिएको भन्दै उहाँको सम्भावित भ्रमणले दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

हाल गाजाको युद्धविराम र बन्धक फिर्ता प्रक्रिया प्रारम्भिक चरणमा रहेकाले, ट्रम्पको सम्भावित इजरायल भ्रमण केवल प्रतीकात्मक होइन, शान्ति प्रक्रियाको निरन्तरता र क्षेत्रीय स्थायित्वका लागि निर्णायक कदमका रूपमा हेरिएको छ।