समाचार

प्रचण्ड : छठ पर्वले अँध्यारो चिर्दै देशमा नयाँ प्रभात ल्याओस्

प्रचण्ड : छठ पर्वले अँध्यारो चिर्दै देशमा नयाँ प्रभात ल्याओस्

काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वले मानव र प्रकृतिभित्रको अँध्यारो हटाउँदै समाजमा उज्यालो, पवित्रता र सकारात्मक ऊर्जा जगाउने विश्वास व्यक्त गरेका छन्।

छठको पावन अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले परिवर्तन पक्षधर सबै शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं भन्ने मेरो दृढ विश्वास छ।”

प्रचण्डका अनुसार आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् अर्थपूर्ण बनेको छ। उनले कामना गरे, “छठ पर्वले प्रकृति र मानवभित्र विद्यमान अँध्यारोलाई चिर्दै सबैमा मनको उज्यालो र सकारात्मक ऊर्जा जगाओस्। देशमा शान्ति, समृद्धि र स्थायित्वको नयाँ प्रभात उदाओस्।”

मधेस–तराईको मुख्य चाडका रूपमा मनाइने छठ पर्व हाम्रो श्रम, संस्कृति, परम्परा र जनजीवनसँग गहिरो सम्बन्ध राख्ने पर्व हो। यसले मानव र प्रकृतिबीचको सन्तुलन र सहअस्तित्वलाई सशक्त बनाउँदै आत्मशुद्धिको चेतना जागृत गराउने प्रचण्डको भनाइ छ।