प्रधानमन्त्री कार्की : अहिले सबैभन्दा ठूलो खाँचो — नेपालीबीचको एकता र सहकार्य
काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले हालको राजनीतिक संक्रमण र सामाजिक तनावको परिस्थितिमा सबै नेपालीबीच अझै गहिरो एकता र सहकार्यको आवश्यकता रहेको बताएकी छन्।
छठ पर्वको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले भनिन्, “छठसहित हाम्रा चाडपर्वहरूले नेपाली समाजमा सामाजिक एकता, सद्भाव र भ्रातृत्व सुदृढ गर्न सधैं योगदान दिएका छन्। अहिलेको अवस्थाले हामीलाई अझ बढी एकताको खाँचो महसुस गराएको छ।”
प्रधानमन्त्री कार्कीले जेन–जेड आन्दोलनपछिको परिस्थितिलाई सामान्यीकरण गर्दै आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको उल्लेख गरिन्।
उनले सबै पक्षलाई संवेदनशीलता बुझेर आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै भनिन्, “छठ पर्वले दिने पवित्र आस्था, संयम र आत्मबलले हामी सबैमा सद्भाव, शान्ति र खुसीयाली फैलाओस्। आगामी निर्वाचनलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदै सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्छ।”
प्रधानमन्त्री कार्कीले सडक प्रदर्शन मात्र समस्याको स्थायी समाधान नभएको उल्लेख गर्दै भनिन्, “कुनै असन्तुष्टि वा अडान भए पनि त्यसलाई शान्तिपूर्ण रूपमा राखी जनताको मन जितेर निर्वाचनबाट अनुमोदन गराउनु नै लोकतन्त्रको सर्वोत्तम बाटो हो।”