समाचार अर्थ

नेपाल–भारतबीच दुई नयाँ अन्तरदेशीय प्रसारण लाइन सम्झौता, १० वर्षभित्र १० हजार मेगावाट निर्यात लक्ष्य

नेपाल–भारतबीच दुई नयाँ अन्तरदेशीय प्रसारण लाइन सम्झौता, १० वर्षभित्र १० हजार मेगावाट निर्यात लक्ष्य

काठमाडौं — नेपाल र भारतबीच दुईवटा नयाँ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त लगानी (Joint Venture) सम्झौता भएको छ।
सम्झौता भारतको Power Grid Corporation of India Limited (PGCIL)नेपाल विद्युत प्राधिकरण (NEA) बीच बिहीबार सम्पन्न भएको हो। उक्त सम्झौतामा भारतका उर्जा मन्त्री श्री मनोहर लाल र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री कुलमान घिसिङको उपस्थितिमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार इनरुवा (नेपाल)–नयाँ पूर्णिया (भारत)दोदोघरा (नेपाल)–बरेली (भारत) ४०० केभी प्रसारण लाइनको विकास हुनेछ।
यी प्रसारण लाइनहरूले दुबै देशबीच ऊर्जा व्यापारका सम्भावनालाई अझ विस्तार गर्ने बताइएको छ।

हाल नेपालले भारतलाई ४०० केभी मुजफ्फरपुर–ढल्केवर लगायतका प्रसारण लाइनमार्फत १,१२५ मेगावाटसम्म जलविद्युत् निर्यात गर्दै आएको छ।
नेपाल विद्युत प्राधिकरणले चालु आर्थि‍क वर्ष २०२४/२५ मा भारतलाई विद्युत् बिक्री गरेर १७ अर्ब ५६ करोड रुपैयाँ आम्दानी गरेको छ।

त्यस्तै, सन् २०२४ नोभेम्बरदेखि नेपालले भारतीय ग्रिडमार्फत बंगलादेशलाई पनि ४० मेगावाटसम्म बिजुली निर्यात गर्न थालेको छ।

यी दुई नयाँ लाइनबाहेक, अहिले निर्माणाधीन गोरखपुर–नयाँ बुटवल ४०० केभी प्रसारण लाइन पनि तीव्र गतिमा अघि बढिरहेको छ।
यी तीनै प्रसारण लाइन पूरा भएपछि नेपाल–भारतबीच करिब ६,००० मेगावाटसम्म अतिरिक्त प्रसारण क्षमता थपिने अनुमान गरिएको छ।

नेपाल र भारतबीच सन् २०२४ जनवरीमा दीर्घकालीन विद्युत् व्यापार सम्झौता (Long Term Power Trade Agreement) भएको थियो।
त्यो सम्झौताअनुसार आगामी १० वर्षभित्र नेपालले भारतलाई १०,००० मेगावाटसम्म जलविद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ।

ऊर्जा मन्त्रालयका अनुसार, यी परियोजनाहरूले दुबै देशबीचको ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पु¥याउने र दक्षिण एसियाली ऊर्जा एकीकरणतर्फ ठोस कदम हुने अपेक्षा गरिएको छ।