वर्षाका कारण बिपी राजमार्ग अवरुद्ध, यात्रुहरू बीच त्रास
 
                                रामेछाप । लगातारको वर्षाका कारण बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा सवारीसाधनको आवतजावत पूर्णरूपमा ठप्प भएको छ। अस्थायी सडक डाइभर्सनका केही स्थानमा माटो र ढुङ्गा सहितको पैरो खसेपछि उक्त राजमार्ग अवरुद्ध भएको हो।
मंगलटार प्रहरी चौकीका अनुसार हिजो साँझ करिब ५ बजेदेखि नै नेपालथोकमा गाडीहरू रोकिएका छन्। सम्भावित दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सवारी आवागमन रोक्ने निर्णय गरेको जनाएको छ।
रोशीखोला किनारमा निर्माण गरिएका अस्थायी डाइभर्सनहरूमा ठूलो क्षति नभए पनि वरिपरि खसेका पैरोका कारण सडक सञ्चालनमा कठिनाइ आएको प्रहरीको भनाइ छ। लगातारको वर्षाले माटो पन्छाउने कार्यमा समेत अवरोध उत्पन्न गरेको छ।
स्थानीय प्रशासनले यात्रु र चालकहरूलाई अनावश्यक जोखिम नलिन, सुरक्षित स्थानमै बस्न र मौसमको अवस्थाबारे जानकारी लिएपछि मात्र यात्रा सुरु गर्न आग्रह गरेको छ।
 
                         
                                                         
                                                         
                                                