समाचार

‘जनकेन्द्रित स्मार्ट सहर’ नारासहित विश्व सहरीकरण दिवस मनाइँदै

‘जनकेन्द्रित स्मार्ट सहर’ नारासहित विश्व सहरीकरण दिवस मनाइँदै

काठमाडौँ । विश्वभर आज ‘जनकेन्द्रित स्मार्ट सहर’ भन्ने नाराका साथ विश्व सहरीकरण दिवस मनाइँदैछ। सहरको दिगो विकास, समान अवसर र सहकार्यका सन्देश प्रवाह गर्ने उद्देश्यसहित यो दिवस विभिन्न मुलुकमा विविध कार्यक्रमसहित मनाइँदैछ।

संयुक्त राष्ट्रसंघको आह्वानमा यो वर्षको केन्द्रीय कार्यक्रम कोलम्बियाको राजधानी बोगोटामा आयोजना भइरहेको छ। सन् २०१४ देखि सुरु गरिएको यस दिवसमा हरेक वर्ष फरक–फरक सहरमा विश्वस्तरीय छलफल, प्रदर्शनी र नीतिगत गोष्ठीहरू आयोजना हुँदै आएका छन्।

दिवसको मूल मर्म सहरहरूलाई केवल प्राविधिक रूपमा होइन, जनजीवनमै केन्द्रित गरेर दिगो र समावेशी बनाउने हो। आवास संकट, वातावरणीय असन्तुलन, रोजगारी र आधारभूत सेवामा असमान पहुँचजस्ता चुनौतीहरूलाई सामूहिक प्रयासबाट समाधान गर्ने लक्ष्य यस दिवसले बोकेको छ।

राष्ट्रसंघका अनुसार हाल विश्व जनसंख्याको आधाभन्दा बढी हिस्सा सहरी क्षेत्रमा बसोबास गर्छ, र आगामी दशकमा यो दर अझ तीव्र गतिमा बढ्ने अनुमान गरिएको छ। यस्तो अवस्थामा ‘स्मार्ट’ मात्र होइन, ‘मानवकेन्द्रित’ सहरी दृष्टिकोणलाई प्राथमिकता दिनु नै भविष्यको आवश्यकता भएको विज्ञहरूले बताएका छन्।