समाचार

एमाले झण्डासँगै डर पनि फैलियो? ओली आएको गाउँमा सुरक्षा मनोविज्ञान एकाएक बिग्रियो

एमाले झण्डासँगै डर पनि फैलियो? ओली आएको गाउँमा सुरक्षा मनोविज्ञान एकाएक बिग्रियो

सिंहदरबारदेखि निजी घर–सम्पत्तिसम्म जलेको जेन–जी आन्दोलनको धुवाँ अझै मनमा बाक्लै बसिरहेकै बेला, त्यस घटनास्थलबाट करिब साढे १२ किलोमिटर दूरीमा पर्ने सूर्यविनायक–चोक पार गर्दै उत्तरतर्फ साढे ३ किलोमिटर टाढा रहेको गुण्डु बस्ती पछिल्ला दिन अस्वाभाविक तनावमा छ। आन्दोलनपछि पदच्युत भएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही गाउँस्थित एक निजी निवासमा बसाइँ सरेसँगै, राजधानीभन्दा बाहिर मानिने यो शान्त बस्ती हठात् राजनीतिक जोखिम र सुरक्षा संवेदनशीलताको नयाँ केन्द्रमा बदलिएको छ।

गाउँभरि “अहिले फेरि के हुन्छ?” भन्ने शंका खुलेर सुनिने भए पनि अधिकांश स्थानीय क्यामेरासामु बोल्न तयार छैनन्। जेन–जी आन्दोलनताका आगजनी र भिडन्तले काठमाडौं थरथराएको दृश्य अझै स्मृतिमा ताजा छ, र त्यही सम्झनाले गुण्डुको रात झन् गह्रौँ बनाइदिन्छ। कतिपयले सडकछेउमा देखिन थालेका एमालेका झण्डालाई “राजनीतिक जमघट सुरु हुने संकेत” का रूपमा व्याख्या गर्दै जोखिम बढेको बताउँछन्।

सूर्यविनायक नगरपालिका–७, गुण्डुमा तिथली गणेश–भैरव नजिकै मुख्य बाटोबाट भित्र छिर्ने सहायक मार्गमा पूर्वप्रधानमन्त्री ओलीको सुरक्षाका लागि नयाँ गेट जडान गरिएको छ। पहिले यहाँ कुनै गेट थिएन; ओली आएका पछि मात्र यो बिसेश सुरक्षा गेट राखिएको हो। सो गेटबाट करिब १३० मिटर भित्र उनको निवास अवस्थित छ।

गुण्डु काठमाडौँजस्तै ठूलो र अनाम बस्ती होइन; यहाँ लगभग सबै एकअर्कालाई चिन्छन्। यस्ता घनिष्ठ सामाजिक संरचनामा राष्ट्रिय विवादका केन्द्रमा रहेका नेताको बसाइँ सराइले मनोवैज्ञानिक दबाब झनै गहिरिएको स्थानीयहरूको बुझाइ छ। एकजना बासिन्दाले नाम नखुलाउने शर्तमा भने, “हामी राजनीति होइन, शान्ति चाहन्छौँ। फेरि भीड आयो भने हाम्रो ज्यान–धनै जोखिममा पर्ला भन्ने डर छ।”

यद्यपि केहीले गाउँ ‘चिनिने’ भएकामा खुसी देखाए पनि धेरै बासिन्दाको मन भने अर्कै छ। उनीहरूका अनुसार पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनहरूमा सार्वजनिक रूपमा दिएका टिप्पणीहरू “गैरजिम्मेवार र हावादारी” महसुस भएको छ। स्थानीयहरू बताउँछन् कि ती अभिव्यक्तिले वातावरण शान्त पार्नेभन्दा उल्टै तनाव बढाएको छ। एउटा बासिन्दाले नाम नखुलाउने शर्तमा भने, “उहाँका बोलीले डर दिनमा दुई गुणा र रातमा चार गुणा बढ्छ जस्तो लाग्छ।” उनका यी टिप्पणीहरू राजनीतिक रूपमा विवादास्पद मात्र होइन, आन्दोलनपछि कठिनाइ भोगेका मानिसका मनोवैज्ञानिक घाउलाई चसकिलो बनाउने कारण बनेको स्थानीयहरूको अनुभव छ।

ओली पक्षले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। उनका सचिवालयसँग सम्पर्क गर्दा जवाफ प्राप्त हुन सकेन। तर स्थानीय प्रशासनका एक अधिकारीले अनौपचारिक रूपमा भने, “हामी परिस्थितिको मूल्यांकन गरिरहेका छौँ। खतरा तत्काल देखिएको छैन, तर संवेदनशीलता उच्च छ।” प्रशासनको संयत टिप्पणी र स्थानीयहरूका चकित अनुहारबीचको यो दूरी नै अहिले गुण्डुको मनोवृत्तिको स्पष्ट संकेत हो।

गुण्डुमा अहिले थोरै जनैतिक गतिविधि देखिए पनि, स्थानीयहरूको डर–चिन्ताले गाउँलाई अदृश्य दबाबमा राखेको छ। उनीहरूको अपेक्षा सरल छ—राजनीति फेरि ज्वालामुखी नबनोस्, नेताको बोलीले आगो झनै नबालोस्, र बस्ती शान्त रहोस्। नत्र, देशव्यापी अशान्तिको छायाले यो सानो बस्तीलाई पुनः घेर्न धेरै समय लाग्ने देखिँदैन।







केपी शर्मा ओली गुण्डु