समाचार

प्यूठानमा भारतीय सहयोगको अर्को परियोजना सम्पन्न: दाङवाङ माध्यमिक विद्यालय र छात्रावास भवनको उद्घाटन

प्यूठानमा भारतीय सहयोगको अर्को परियोजना सम्पन्न: दाङवाङ माध्यमिक विद्यालय र छात्रावास भवनको उद्घाटन

काठमाडौं । लुम्बिनी प्रदेशको प्यूठानमा भारत सरकारको अनुदान सहयोगमा निर्मित नयाँ विद्यालय र छात्रावास भवन सञ्चालनमा आएको छ। ऐरावती गाउँपालिका–१, अमिलीस्थित श्री दाङवाङ माध्यमिक विद्यालयमा बनेका संरचनाहरू भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन र ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले संयुक्त रूपमा सोमबार उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो। भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत प्राप्त अनुदान विद्यालय भवन, छात्रावास तथा सम्बन्धित पूर्वाधार निर्माणमा खर्च गरिएको हो। परियोजना ऐरावती गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

श्री दाङवाङ माध्यमिक विद्यालय प्यूठानको ग्रामीण क्षेत्रमा अवस्थित अग्रणी सरकारी विद्यालयमध्ये एक हो जसले ईसीडी (प्लेग्रुप) देखि कक्षा १० सम्मका २३४ विद्यार्थीलाई शिक्षा प्रदान गर्छ। तीमध्ये करिब ६० प्रतिशत छात्रा छन्। नयाँ भवन निर्माणपछि विद्यालय व्यवस्थापन, स्थानीय सरकार र अभिभावकहरूले विद्यार्थीहरूका लागि सिकाइको वातावरण अझ सुरक्षित, आकर्षक र गुणस्तरीय बन्ने विश्वास व्यक्त गरेका छन्।

विद्यालयका सरोकारवालाहरूले भारत सरकारद्वारा दीर्घकालीन रूपमा दिइँदै आएको विकास सहयोगबारे कृतज्ञता प्रकट गरेका छन्। उनीहरूका अनुसार पहाडी ग्रामीण क्षेत्रका विद्यार्थीले गुणस्तरयुक्त पूर्वाधार पाउनुले समग्र शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पर्नुका साथै विद्यालयमै विद्यार्थी आकर्षण पनि बढ्ने अपेक्षा गरिएको छ।

निकट छिमेकीको रूपमा नेपाल–भारतबीच बहुक्षेत्रीय सहयोग जारी रहेको उल्लेख गर्दै भारतीय दूतावासले शिक्षा जस्ता प्राथमिकतामा आधारित परियोजनाहरूले नेपालको विकास तथा समृद्धिका लक्ष्यलाई सहयोग पुग्ने धारणा व्यक्त गरेको छ।

(मंसिर ३, २०८२ / काठमाडौं)

भारत लुम्बिनी प्रदेश