समाचार

हेटौंडामा भारतको ७०–मिटर मोड्युलर पुल हस्तान्तरण, कनेक्टिभिटी बलियो

हेटौंडामा भारतको ७०–मिटर मोड्युलर पुल हस्तान्तरण, कनेक्टिभिटी बलियो

काठमाडौं। पूर्वी नेपाललाई २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षाले गम्भीर रूपमा प्रभावित पारेकाले सडक कनेक्टिभिटी पुनःस्थापनामा भारतले महत्त्वपूर्ण सहयोग गरेको छ। नेपालका लागि भारतीय राजदूतले मंसीर ४ गते हेटौंडामा आयोजित कार्यक्रममा नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट तथा पुल जडानका लागि आवश्यक विशेष उपकरण औपचारिक रूपमा हस्तान्तरण गरे।

नेपाल सरकारले गरेको अनुरोधअनुसार भारतले यस्ता कुल १० वटा ७०–मिटर लामो, अग्ला स्प्यानका मोड्युलर बेली ब्रिज अनुदानमा उपलब्ध गराउन प्रतिबद्ध रहँदै आएको छ। नेरु ७३ करोडभन्दा बढी मूल्य बराबरका यी पुल पैकेजमध्ये आज हस्तान्तरण गरिएको पुल तुरुन्तै रामेछाप पठाइनेछ, जहाँ भारी वर्षापछि सडक अवरुद्ध बनेको छ।

यसअघि पनि भारतले २०२४ सेप्टेम्बरमा आएको बाढी तथा पहिरोपछि नेरु ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिज प्रदान गरेको थियो, जस मध्ये ४ वटा यतिबेला जडान भइसकेका छन्।

कार्यक्रममा भारतीय राजदूतले मोड्युलर पुल तथा उपकरण आपूर्तिलाई भारत–नेपाल बीचको दिगो मित्रताको शक्तिशाली प्रमाण भएको बताए। उहाँका अनुसार भारत सरकारले नेपालको पूर्वाधार विकास, पुनर्निर्माण तथा विपद्–न्युनिकरणमा निरन्तर सहयोग गर्ने नीति जारी राख्नेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतको निरन्तर र महत्त्वपूर्ण सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता छिटो जडान गर्न सकिने पुल आपतकालीन पुनर्निर्माणका लागि अत्यन्तै उपयोगी हुने बताए। उहाँले रामेछापमा पठाइने पुललाई चाँडै सञ्चालनमा ल्याइने आश्वासनसमेत दिए।

भारतले नेपालका विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण र कनेक्टिभिटी सुधारका लागि निरन्तर सहयोग प्रदान गर्दै आएको छ।