‘एआई फर इन्क्लुसिभ ग्रोथ’ प्रि–समिट काठमाडौंमा सम्पन्न, नेपाल–भारत एआई सहकार्य बलियो
काठमाडौं । भारतीय राजदूतावास र एआई एसोसिएसन अफ नेपालको साझेदारीमा ‘एआई फर इन्क्लुसिभ ग्रोथ : बिल्डिङ नेपाल्स एआई–रेडी फ्युचर’ शीर्षकमा प्रि–समिट कार्यक्रम २०८२ मंसिर ५ गते काठमाडौंमा सम्पन्न भयो । यो कार्यक्रम फागुन ७–८ मा नयाँ दिल्लीमा हुने एआई इम्प्याक्ट समिटको आधिकारिक प्रि–समिटका रूपमा मान्यता प्राप्त छ।

४ सयभन्दा बढी स्टार्टअप, सरकारी निकाय, उद्योग वाणिज्य संघ, शैक्षिक संस्था, थिंक ट्याङ्क र प्रविधि क्षेत्रका विशेषज्ञहरूको सहभागी रहेको कार्यक्रममा एआईमा हालसालका प्रवृत्ति, भारत–नेपाल सहकार्य, डिजिटल सार्वजनिक सेवा रूपान्तरण तथा एआई स्ट्याक विकासबारे गहिरो छलफल भयो।

मुख्य अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेपाल सरकारले एआई क्षेत्रलाई नीति र सहकार्यमार्फत थप व्यवस्थित रूपमा अघि बढाउने बताइन्। भारतीय राजदूत नवीन श्रीवास्तवले ‘AI for ALL’ को भारतको दृष्टिकोण र आगामी ‘एआई इम्प्याक्ट समिट’ ले एआईको वास्तविक प्रभावमा केन्द्रित हुने उद्देश्यबारे प्रकाश पारे।

भाषिणी डिभिजनका प्रमुख अमिताभ नागले बहुभाषिक प्रविधिद्वारा भारतमा सार्वजनिक सेवामा भइरहेको रूपान्तरण प्रस्तुत गरे। एआई एसोसिएसन अफ नेपालका उपाध्यक्ष डा. सुरेश पोखरेलद्वारा सञ्चालित विज्ञमण्डल छलफलमा नेपालका एआई नीति, रोबोटिक्स प्रवर्द्धन, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर र भारतका अनुभवहरू साझा गरियो।
कार्यक्रमको समापन एआई उपकरण तथा वास्तुकलाबारे कार्यशालासहित सम्पन्न भयो। फेब्रुअरी २०२६ मा हुने एआई इम्प्याक्ट समिटमा तीन अन्तर्राष्ट्रिय एआई चुनौती र एक अनुसन्धान गोष्ठीसमेत रहनेछ, जसका लागि impact.indiaai.gov.in मार्फत आवेदन दिन सकिनेछ।
