समाचार

सुप्रिम सहकारी घोटाला: एउटै अभियोग, फरक फैसला! रवि धरौटीमा, जोशी जेलमै किन?

सुप्रिम सहकारी घोटाला: एउटै अभियोग, फरक फैसला! रवि धरौटीमा, जोशी जेलमै किन?

बुटवल । सुप्रिम सहकारी घोटालामा मुछिएका पूर्व डिआइजी तथा रवि लामिछानेका व्यावसायिक साझेदार छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपन्देहीको आदेशमाथि पुनरावलोकन गरिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सोमबार जिल्ला अदालतको आदेशबारे कैफियत प्रतिवेदन माग गरेको छ।

गत सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले घोटालामा संलग्न जोशीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। सो आदेशविरुद्ध जोशीका छोरा रोचकले पुनरावलोकन निवेदन दर्ता गराउँदै उनलाई थुनाबाहिरै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन माग गरेका छन्।

सुप्रिम सहकारी घोटालामा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष जोशी र प्रबन्ध निर्देशक रवि लामिछाने दुवैविरुद्ध समान अभियोग लगाइए पनि लामिछानेलाई भने न्यायाधीश प्रह्लादकुमार योगीले १ करोड धरौटीमा छाड्न आदेश दिएका थिए। तर, प्रत्यक्ष संलग्नता प्रमाणित नभएका जोशीलाई थुनामा राख्ने आदेश भएपछि त्यसबारे उच्च अदालतमा पुनरावलोकन गर्न माग गरिएको हो।

जोशीले रकम चलाउने प्रत्यक्ष भूमिका नभए पनि उनलाई जेल पठाइने निर्णयप्रति असन्तुष्टि जनाउँदै परिवारले अदालतको आदेश पुनरावलोकन गर्न आग्रह गरेको छ। यसबारे अब उच्च अदालतको निर्णय कुरिनु पर्नेछ।

रवि लामिछाने सुप्रिम सहकारी घोटाला छविलाल जोशी