लक्ष्मी तिवारीको एकल उपस्थितिले रास्वपाको दोहोरो चरित्रलाई थप उजागर गर्यो

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल गर्न महिला, कानुन र विकासका लागि मञ्च (डब्लुएफएलडी)ले हिजो बिहान राजधानीको अल्फा हाउसमा एउटा कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा प्रतिनिधि सभाका धेरै महिला सांसदहरू उपस्थित थिए, जसमा वरिष्ठ अधिवक्ता मीरा ढुंगाना र सुष्मा गौतमले विधेयकका मुख्य पक्ष र यसको प्रभावबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरे।
तर, यस कार्यक्रममा एकदमै चासोको कुरा के भने, 'जान्नेलाई छान्ने' पार्टी रास्वपाका सांसदहरूको उपस्थिति निकै कम थियो। रास्वपाबाट एकमात्र सांसद लक्ष्मी तिवारी कार्यक्रम स्थलमा देखा परिन्, जसका कारण पार्टी भित्रै असन्तुष्टि फैलिएको स्रोतहरूले जानकारी दिएका छन्। यस घटनाले रास्वपाको दोहोरो चरित्रप्रति प्रश्न उठाएको छ।
गत असारमा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजिओको खाजाको कारण ठूलो विवाद उत्पन्न भएको थियो। रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने बैठकबाट उठेर हिँडेका थिए। यसै क्रममा, सांसद चन्दा कार्कीले गैरसरकारी संस्थाहरूको खाजा खाएर कानुन निर्माणको प्रक्रिया गम्भीर नहुने तर्क व्यक्त गरेकी थिइन्।
त्यसपछिका दिनहरूमा रास्वपाका सांसदहरूले विधेयकमाथि छलफल गर्ने क्रममा कानुन निर्माणमा एनजिओहरूको हस्तक्षेपको कुरा उठाउँदै आएका थिए। तर, यस्ता सांसदहरूले एनजिओको कार्यक्रममा सहभागी हुँदा यो विरोधाभास प्रकट भएको छ।
सांसद तिवारीका अनुसार सबैलाई कार्यक्रममा निमन्त्रणा गरिएको थियो र रास्वपाबाट दुई जना जान तय भए पनि एक जना उपस्थित हुन नसकेपछि मात्र उनी उपस्थित भएकी थिइन्। उनले भनिन्, "हिजो नागरिकता सम्बन्धी गहन छलफल भएको थियो, जसमा आमाको नामबाट र अनाथ बालबालिकालाई कसरी नागरिकता दिन सकिन्छ भन्ने विषयमा विचार विमर्श गरियो।"
यस घटनाले रास्वपाको नीति र पार्टीभित्रको विचारद्वन्द्वलाई उजागर गरेको छ, जसले आगामी दिनहरूमा थप विवादको जन्म दिन सक्छ।
रास्वपा