सीके राउतका नेता-कार्यकर्ता बन्दुकसहित निस्किएपछि…

रौतहट – डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष अब्दुल खान र रौतहट जिल्लाका इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सार्वजनिक रूपमा हतियार प्रदर्शन गरेपछि प्रहरी प्रशासनले अनुसन्धान सुरु गरेको छ।
शेख जमसैद र अन्य नेताहरूले आफ्नो सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्दै तस्बिर र भिडियो सार्वजनिक गरेका थिए, जसले गर्दा अहिले प्रहरीले उक्त गतिविधिको छानबिन प्रक्रिया आरम्भ गरेको छ।
रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपककुमार रायले भने, "सामाजिक सञ्जालमा हतियार प्रदर्शनको चर्चा भएपछि हामीले तुरुन्तै अनुसन्धान प्रक्रिया थालेका हौँ।" उनले थपे, "जांच भइरहेको छ कि उक्त हतियार सरकारी इजाजत प्राप्त हो वा छैन।"
सूत्रका अनुसार, शेख जमसैदको घरमा भएको घटनामा दुईवटा ठूलो बन्दुकका साथ मानिसहरू देखिएका थिए। यस बारेमा अनुसन्धान गरिरहेको प्रहरीले हतियार र बोक्ने व्यक्तिहरूलाई जिल्ला अध्यक्ष जमसैदको जिम्मामा राखेको बताएको छ।
प्रजिअ हिरालाल रेग्मीले पनि यस विषयमा अनुसन्धान पूरा भएपछि उचित कदम चाल्ने बताएका छन्।
सामाजिक सञ्जालमा हतियार प्रदर्शन गर्दा उत्पन्न भएको विवादले गर्दा जनमत पार्टीका नेताहरूको क्रियाकलापको विरोध चर्किएको छ। धेरैले यस्तो हतियार प्रदर्शनको कारबाही हुने या सत्ता पक्षका नेताहरूले गर्दा के कानूनी कारबाही गरिन्छ भनेर प्रश्न उठाएका छन्।
जमसैदले उक्त फोटो र भिडियो फेसबुकमा पोस्ट गरेपछि विवाद बढेपछि त्यसलाई मेटाएका थिए, तर यसको असर भने रहिरहको छ।