अर्थ

भारतसँग १७ हजार मेगावाट विद्युत निर्यात गर्ने ऐतिहासिक सहमति!

भारतसँग १७ हजार मेगावाट विद्युत निर्यात गर्ने ऐतिहासिक सहमति!

काठमाडौं । ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री दीपक खड्काले भारतसँग १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने ऐतिहासिक सहमति भएको बताएका छन्। उनले इनर्जी इन्फर्मेसन सेन्टर प्रालिको ऊर्जा खबर पत्रिकाको सातौं अङ्कको विमोचन कार्यक्रममा बोल्दै दुई देशका सचिवस्तरीय बैठकमा यो महत्वपूर्ण सहमति पुगेको जानकारी दिएका हुन्।

"हामीले आठ अन्तरदेशीय प्रसारण लाइनमार्फत भारत र बङ्गलादेशलाई १७ हजार मेगावाट विद्युत् निर्यात गर्ने सम्झौता गरेका छौँ। यो सम्झौता नेपालको ऊर्जा क्षेत्रमा ठूलो योगदान पुर्याउने छ," उनले भने। मन्त्री खड्काले सस्तो ब्याजदरमा विपन्न वर्गलाई सेयर उपलब्ध गराउन सरकारले काम गरिरहेको उल्लेख गरे।

ऊर्जा विकास मार्गचित्र, २०८१ को लक्ष्य पुरा गर्न यो सहमति महत्वपूर्ण रहेको भन्दै उनले उत्पादन भएको विद्युतको बजार सुनिश्चित रहेको कुरा पनि जोड दिए। यसपछि, निजी क्षेत्रलाई पनि ऊर्जा क्षेत्रमा लगानी गर्नको लागि प्रेरित गरेका छन्।

यस अघि जलविद्युत आयोजना निर्माण भए पनि प्रसारण लाइनको अभावले विद्युत खेर गइरहेको भन्दै, अब निजी क्षेत्रको सहयोगले प्रसारण लाइन निर्माण गर्ने व्यवस्था मिलाइएको बताए।

पूर्वमन्त्री शङ्करप्रसाद कोइरालाले ऊर्जा खबर पत्रिकाले सरकारलाई ऊर्जा क्षेत्रमा मार्गदर्शन दिएको बताए। यस ऐतिहासिक सहमतिसँगै नेपालले ऊर्जा क्षेत्रमा नयाँ इतिहास रच्ने मार्गमा अग्रसर भएको देखिन्छ।