समाचार

पूर्वराजा ज्ञानेन्द्र पक्राउ पर्ने संकेत,ओली, प्रचण्ड र देउवाको गोप्य रणनीति

पूर्वराजा ज्ञानेन्द्र पक्राउ पर्ने संकेत,ओली, प्रचण्ड र देउवाको गोप्य रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गर्ने संकेत दिएका छन् । गणतन्त्रविरोधी आन्दोलन चर्किरहेका बेला ओलीले यो विषयमा थप छलफल गर्दै कडा कदम चाल्ने तयारी गरिरहेका छन् ।

ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विस्तृत छलफलपछि अगाडि बढ्ने योजना बनाएका छन् । तर, प्रचण्ड तराई मधेशमा भएकाले तीन नेताको संयुक्त बैठक हुन नसकेको बालुवाटार स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले देउवासँग पूर्वराजाको भूमिकाबारे गम्भीर छलफल गरिसकेको र अब प्रचण्डसँग पनि अन्तिम निर्णयका लागि वार्ता गर्न चाहेको जनाइएको छ । गणतन्त्रविरोधी प्रदर्शन तीव्र बनेपछि पूर्वराजालाई नियन्त्रणमा लिनुपर्ने विषय उठ्दै आएको छ ।

यसैबीच, देउवाले पूर्वराजाको पुनरागमन असम्भव रहेको दाबी गर्दै उनी राप्रपाको नेतृत्वमा जानु उचित हुने टिप्पणी गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भने पूर्वराजामाथि कडा आरोप लगाउँदै कुनै हालतमा राजतन्त्र नफर्कने ठोकुवा गरेका छन् ।

एमाले सचिवालय बैठकमा ओलीले गणतन्त्रविरुद्ध षड्यन्त्र भइरहेकाले पूर्वराजालाई पक्राउ गर्न सकिने बताएका थिए । उनले भारतीय गुप्तचर संस्था ‘रअ’ को चलखेल भइरहेको दाबी गर्दै आफूलाई हटाउन बाह्य शक्ति संलग्न भएको आरोप समेत लगाएका छन् ।

ओली र भारतबीचको चिसोपन कायमै रहेको छ । अरू प्रधानमन्त्रीहरूलाई चाँडै भारत भ्रमणको निम्तो आउने गरे पनि ओलीलाई नौ महिनासम्म औपचारिक निमन्त्रणा प्राप्त नभएको छ । यो बीचमा परराष्ट्रमन्त्री आरजु देउवा राणाले समेत सम्बन्ध सुधार्ने प्रयास गरे पनि असफल भएको जनाइएको छ ।

अब तीन शीर्ष नेताको छलफलपछि पूर्वराजासम्बन्धी सरकारको आधिकारिक निर्णय आउने अपेक्षा गरिएको छ ।