राजनीति

प्रचण्डको तिखो चेतावनी: 'सामन्ती प्रेतहरुले उठाए जनताको बलले समाप्त गर्छ!'

प्रचण्डको तिखो चेतावनी: 'सामन्ती प्रेतहरुले उठाए जनताको बलले समाप्त गर्छ!'

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती शक्तिहरूको पुन:सक्रियता प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएका छन्। माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभामा प्रचण्डले नेपाली जनताले परास्त गरिसकेका तत्वहरूले समयसमयमा टाउको उठाउने प्रयास गरेको बताएका हुन् ।

प्रचण्डले भने, "अबको आवश्यकता भनेको जनताले प्राप्त गरेका अधिकारहरूको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीजस्ता अग्रगामी एजेन्डामा जानु हो।" उनले चेतावनी दिए, "यदि कसैले पछाडि फर्कनेतर्फ सोच्ने प्रयास गरे भने त्यो राम्रो नहुनेछ।"

अध्यक्ष प्रचण्डले जनतालाई अधिकार दिएको कुरा कुनै शासक वा राजा महाराजाले नगरेको, बरु जनताले आफ्नो बलबाट अधिकार हासिल गरेको स्पष्ट पारे। उनले जनताको अधिकारको रक्षा र यसको विकास गर्न माओवादीलाई बलियो बनाउनु पर्नेमा जोड दिए।

"मुलुक यथास्थितिमा चल्न सक्दैन," प्रचण्डले भने, "अब नयाँ आन्दोलन आवश्यक छ। यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित वर्गको घरमा पुग्नुपर्छ।"

प्रचण्डले माओवादी पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानलाई दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोडेर नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।

महोत्तरीको विकासका विषयमा उनले जलेश्वरमा सुक्खा बन्दरगाह, सिचाइको व्यवस्था, मिटरव्याज पीडितका समस्या समाधान, शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य सेवाको पहुँच विस्तार जस्ता विषयलाई थप प्राथमिकतामा राख्ने प्रतिबद्धता पनि व्यक्त गरे।

अन्ततः, प्रचण्डले भने, "पछिल्लो समय माओवादी जनताका बीचमा कम देखिएका छन् र त्यसको फाइदा उठाएर मधेसवादी दलहरूले भ्रम सिर्जना गरेका छन्। अब, मधेसवादी दलहरूले संघीयताको पक्षमा माओवादीले सुरु गरेको अभियानमा जोड दिनुपर्छ।"