कभर स्टोरी

‘तथ्यहीन’ भन्दै खण्डन गरियो, तर असली प्रश्नहरू किन छुटे?

नेपाल मेडिकल कलेजको ‘खण्डन’: ‘नेपाल आज’मा प्रकाशित समाचारहरूप्रति गम्भीर असहमति, अझै केही सवालहरू अनुत्तरित

‘तथ्यहीन’ भन्दै खण्डन गरियो, तर असली प्रश्नहरू किन छुटे?

काठमाडौं — केही दिनदेखि ‘नेपाल आज’ले नेपाल मेडिकल कलेज (NMC) मा भइरहेको अनियमितता, कर्मचारीमाथिको विभेद, र पत्रकारलाई धम्की दिइएको विषयमा प्रकाशित गरेको समाचारप्रति नेपाल मेडिकल कलेज प्रशासनले औपचारिक रूपमा ‘खण्डन’ सार्वजनिक गरेको छ। उक्त खण्डनपत्रमा समाचारलाई ‘तथ्यहीन, आधारहीन र भ्रामक’ भन्दै गम्भीर असहमति जनाइएको छ। कलेजको खण्डन पत्रमा प्रयोग गरिएको भाषा शैली सम्मानजनक, सभ्य र पेशागत देखिन्छ।

कलेजका वरिष्ठ मानव संसाधन अधिकृत हरि प्रसाद त्रिपाठीद्वारा हस्ताक्षरित उक्त पत्रमा भनिएको छ, “नेपाल मेडिकल कलेज विगत २५ वर्षदेखि काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिललगायतका संस्थाको नियमन, निर्देशन र अनुगमन अन्तर्गत कार्यरत छ।” तर, खण्डनपत्र जारी गर्ने त्रिपाठीले नै यसअघि टेलिफोन सम्पर्क गर्दा प्रतिक्रिया दिन अस्वीकार गरेका थिए।

कलेजले आफ्नो खण्डनमा थप प्रस्ट्याउँदै भनेको छ, “कलेजमा कार्यरत सबै प्राध्यापक, कर्मचारी र नर्सहरूलाई नेपाल सरकारको श्रम ऐन र कलेजको आन्तरिक सेवा शर्त विनियमावली अनुसार सेवा सुविधा दिइएको छ। कलेजले नयाँ प्रविधि, आधुनिक भवन, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्थापन गर्दै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा, स्थानीय सरकारसँग समन्वय गरेर गुणस्तरीय सेवा पुर्‍याउन सदैव प्रतिबद्ध छ।”

प्रकाशित समाचारहरूले संस्थागत प्रतिष्ठामा आँच पुर्‍याएको दाबी गर्दै कलेजले ती समाचारप्रति ‘घोर आपत्ति’ जनाएको छ। तर संस्थाको मानमर्दन वा कसैको व्यक्तिगत प्रतिष्ठामा कसरी आँच पुग्यो भन्ने कुरा स्पष्ट पारिएको छैन। व्यक्तिगत जीवनमा कसलाई के किसिमले चोट पुग्यो भन्ने पनि खण्डनमा उल्लेख छैन।

पत्रमा कलेजले आफूले पत्रकारिताको स्वतन्त्रता, मर्यादा र व्यावसायिक आचारसंहितालाई सम्मान गर्ने स्पष्ट गर्दै, “कलेज प्रशासनबाट सम्पादकलाई कुनै किसिमको धम्की दिइएको छैन” भनी समाचारमा आएका धम्कीका प्रसङ्गहरूलाई गलत बताएको छ। तर यसैबीच, नेपाल मेडिकल कलेजका अस्पताल निर्देशक डा. नीलमणि उपाध्यायले भने ‘नेपाल आज’का सम्पादकलाई ह्वाट्सएपमार्फत स्पष्ट धम्कीपूर्ण सन्देश पठाएका थिए। सन्देशमा उनले लेखेका थिए:

“Dear Chief editor of this news paper, I request to verify the news before publication. I Dr. Nil Mani Upadhyay, declare that I am not involved in any financial matter. Students affairs are looked after by the principal of Nepal Medical College. My job is to regulate day to day functioning of the hospital. Please correct it in your news otherwise it will land in trouble. Regards.”

यस सन्देशको भाषाबाट अस्पताल निर्देशकले धम्कीपूर्ण शैलीमा समाचार सच्याउन दबाब दिएको स्पष्ट देखिन्छ।

तर अझै महत्वपूर्ण प्रश्नहरू भने कलेजले सम्बोधन गर्न सकेको छैन। ‘नेपाल आज’द्वारा उठाइएका केही गम्भीर प्रश्नहरू—जस्तै: एक जना महिला कर्मचारीलाई दिइएको अत्यधिक विशेष व्यवहारको कानुनी वैधता, निरीक्षण टोलीलाई प्रभाव पार्न आर्थिक चलखेल गर्न खोजिएको आरोप, शिक्षकहरूलाई तोकिएकोभन्दा निकै कम पारिश्रमिक दिइएको गुनासो, र पत्रकारलाई दिइएको धम्कीका विषयमा स्पष्ट उत्तर दिन खण्डनमा अस्वीकार गरिएको छ।

साथै, कलेजको जमिन विवाद, अपारदर्शी रूपमा चलेको फार्मेसी तथा ल्याब, र सार्वजनिक जग्गा मिचिएको लगायत गम्भीर प्रश्नहरूको जवाफ पनि पत्रमा दिइएको छैन। यी आरोपहरू सतहमा आएपछि थप अनुसन्धानको आवश्यकता देखिन्छ।

यद्यपि कलेजले औपचारिक रूपमा समाचार खण्डन गरेको छ, तर उठेका गम्भीर सवालहरूको स्पष्ट, पारदर्शी र विश्वसनीय जवाफ अझै आउन सकेको छैन। सार्वजनिक हित र नागरिक चासोका विषयहरूलाई सम्बोधन गर्न नेपाल मेडिकल कलेजबाट अझै परिपक्व र जिम्मेवार जवाफ अपेक्षित छ।

नेपाल आज सत्य तथ्य सार्वजनिक गर्ने, जिम्मेवार पत्रकारिताको धर्म निर्वाह गर्ने क्रममा प्रतिबद्ध रहेको छ। आगामी दिनमा थप तथ्य र प्रमाणहरू प्रकाशन गरिनेछ।


नेपाल मेडिकल कलेज प्रशासनको औपचारिक रूपमा ‘खण्डन’


नखुलेका प्रश्नहरू: खण्डनले टारेर छोडेका संवेदनशील मुद्दाहरू

नेपाल आजद्वारा पठाइएको सोधपत्रमा समावेश ९ वटै प्रश्नहरूमध्ये अधिकांश महत्वपूर्ण विषयमा नेपाल मेडिकल कलेजले खण्डनपत्रमार्फत प्रत्यक्ष रूपमा कुनै उत्तर दिएको छैन। विशेषतः शिक्षक तथा कर्मचारीहरूलाई न्यूनतम तलबभन्दा कम पारिश्रमिक दिएको गुनासो, स्थायी कर्मचारीलाई जबर्जस्ती राजीनामा गराई करारमा नियुक्ति गरिएको विषय, संस्थाभित्र डर र दवावको वातावरण, एक महिला कर्मचारीलाई विशेष व्यवहार दिइएको आरोप, निरीक्षण टोलीलाई आर्थिक चलखेलमार्फत प्रभावित पार्ने रणनीति, र पत्रकारलाई व्यक्तिगत रूपमा धम्की दिइएको विषयमा कुनै पनि स्पष्ट खण्डन वा पुष्टि गरिएको छैन। यस्तै, संस्थाको मानव संसाधन नीतिको पारदर्शिता, समान व्यवहार, तथा प्रधानमन्त्रीसँग सम्बन्ध रहेको भनिएका व्यक्तिहरूको बारेमा उठेका प्रश्नहरू पनि अछुतै छन्। खण्डनमा समावेश विवरणहरूले सम्पूर्ण आरोपहरूको सामना गर्नुभन्दा संस्थाको पक्ष समात्न मात्रै प्रयास गरिएको देखिन्छ।

नेपाल मेडिकल कलेज