समाचार

मुकुलमाथि अन्याय: ४०० वर्षपछि चर्चले माग्यो माफी, रविले मुकुलसँग कहिले माफी माग्लान् त?

मुकुलमाथि अन्याय: ४०० वर्षपछि चर्चले माग्यो माफी, रविले मुकुलसँग कहिले माफी माग्लान् त?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालको बर्खास्तीले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ। २०८१ असार महिनातिर डा. ढकाललाई "अक्षमता, अनुशासनहीनता र अराजक व्यवहार" गरेको आरोप लगाउँदै पार्टीको केन्द्रिय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यसमेतको पदबाट बर्खास्त गरेको थियो। तर निर्वाचन आयोगमा अझै पनि उनको नाम रास्वपाको आधिकारिक महामन्त्रीका रूपमा नै सूचीकृत रहेको छ। पार्टीले आयोगलाई समयमै अद्यावधिक नगरेको यो त्रुटिले पार्टी नेतृत्वको पारदर्शिता र वैधानिकता माथि नै गम्भीर प्रश्न उठाइदिएको छ।

निर्वाचन आयोगले २०८२ जेठ महिनामा सार्वजनिक गरेको पत्र अनुसार मुकुल ढकाल अझै पनि पार्टीको कानुनी रुपमा मान्य महामन्त्री हुन्। यो विषयले पार्टी नेतृत्वले भित्रैभित्र धेरै कुरा लुकाएर अघि बढेको आरोपलाई पुष्टि गरिरहेको छ। यसै कारणले पनि "डा मुकुलको केस गलत थियो भने मुद्दा यहाँसम्म पुग्ने थिएन, सुरुमा नै दरपीठ हुने थियो भन्ने कतिपयको बुझाइ छ।"

मुकुल ढकालका समर्थकहरूलाई पार्टीबाट हटाउने काम भइरहेको छ। पछिल्लो पटक कोशी प्रदेशका संस्थापक सभापति राजेश तिम्सिना र संस्थापक प्रवक्ता कमल बाबू मैनाली त्यसका सिकार बनेका थिए।

पछिल्लो समयमा ढकाल न्यायिक बाटोमा खुलेरै आएका छन्। २०८२ असार ४ गते निर्वाचन आयोगको पत्र सार्वजनिक गर्दै उनले कानुनी लडाइँ अगाडि बढाउने घोषणा गरेका थिए। र २०८२ असार ११ गते सर्वोच्च अदालतमा उनले पार्टी सभापति रवि लामिछाने, कार्यवाहक महामन्त्री कविन्द्र बुरालाकोटी, प्रवक्ता मनिष झा लगायत निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दर्ता गरेका छन्। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीहरूलाई ढकालको बर्खास्तीको कानुनी आधारबारे कारण देखाऊ आदेश जारी गर्दै आगामी असार १७ गते सुनुवाइ तोकेको छ।

तर, इतिहास हेर्ने हो भने, आफूलाई भएको गल्ती स्वीकार गर्न कहिलेकाहीँ सयौँ वर्ष लाग्न सक्छ। १६३३ मा चर्चले वैज्ञानिक ग्यालिलियोलाई गलत साबित गर्दै उनलाई जीवनभर कैद गरे पनि, ४०० वर्षपछि अर्थात् सन् १९९२ मा पोपले आफ्नो गल्ती स्वीकारेका थिए। के रवि लामिछाने र उनको नेतृत्व पनि यस्तो लामो प्रतीक्षापछि मात्र आफ्नो गल्ती स्वीकार गर्नेछन्?

यसैबीच रवि लामिछाने सहकारी ठगी मामिलामा जेल सजायको सम्भावना रहेको भएता पनि पार्टी सभापतिका रूपमा सक्रिय छन्। उनी जेलबाटै पार्टी चलाउँदै गरेको आरोप लाग्दै आएको छ। डीपी अर्यालले भनेका छन्– "रवि लामिछाने जीवित रहेसम्म पार्टी उनकै हातमा रहनेछ, जेलबाट पार्टी चलाउने इतिहास विश्वमा प्रशस्तै छन्।" यसलाई धेरैले भारतको "व्हाट्सएप युनिभर्सिटी"सँग तुलना गर्छन्, जसले अफवाह र अप्रमाणित दाबीहरू फैलाउँछ। के अहिले रास्वपाको नेतृत्व पनि यस्तै व्हाट्सएप निर्देशनमा चल्दै छ?

पार्टी नेतृत्वको अहिलेको अवस्थाबारे गम्भीर आरोपहरू पनि लागिरहेका छन्। रवि लामिछानेको टिममा मेनपावर दलाल, ब्ल्याकमेलर पत्रकार, भ्रष्टाचारीहरू, विदेशी एजेण्ट, तस्कर, फटाहा र सहकारी ठगहरू नै हाबी रहेको बताइन्छ। अर्कोतर्फ, बालेन शाहको नेतृत्वमा पनि तानाशाही प्रवृत्ति देखा परेको छ, र उनीसँग नजिक रहेका केही व्यक्ति अख्तियारबाट जोगिन व्यस्त रहेको चर्चा छ। रविका समर्थकहरू उनलाई जेलबाट छुटाउन विदेशी शक्तिहरूको दैलो धाउन थालेको कुरा पनि बाहिर आइरहेको छ।

अन्ततः, यो घटनाले राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक लोकतान्त्रिक अभ्यास र रवि लामिछानेको नेतृत्वमाथि गम्भीर बहसको आवश्यकता दर्शाएको छ। मुकुल ढकालको बर्खास्तीको दीर्घकालीन असर के होला भन्ने चिन्ता पनि गहिरिँदो छ। यदि रवि लामिछानेले जेलबाटै व्हाट्सएप निर्देशनमार्फत पार्टी सञ्चालन गरिरहने हो भने, यसले पार्टीको छविलाई कस्तो असर पार्ला र यसको भविष्य कस्तो होला?

डा. मुकुल ढकाल आउँदा दिनमा बैकल्पिक शक्तिको रूपमा उदाउने सम्भावना देखिँदै गर्दा राजनीतिक अपरिपक्वता देखाएका रवि लामिछाने र बालेंन्द्र शाहको नेतृत्व कस्तो होला भन्ने प्रश्न गम्भीर बनेको छ।

मुकुल ढकाल रवि लामिछाने