"बेनी नगरपालिकाको मासिक उत्पादन मूल्यांकन नीति: किसानको मेहनतको मूल्यांकन नगदमा!”

म्याग्दीको बेनी नगरपालिकाले किसानलाई उत्पादन क्षमताअनुसार नगद अनुदान वितरण गर्ने नीति ल्याएको छ। वैदेशिक रोजगारीबाट फर्किएका, बेरोजगार युवा तथा कृषिमा संलग्न किसानलाई लक्षित गरी चालु आर्थिक वर्ष २०८१/८२ मा २४ लाख ५० हजार रुपैयाँको उत्पादनमा आधारित अनुदान कार्यक्रम सुरु गरिएको हो।
नगरले अनुदान कार्यक्रमलाई व्यवस्थित बनाउन कार्यविधि २०८० तयार गरेको छ। त्यसअनुसार किसानलाई लघु, साना, मझौला र व्यावसायिक गरी चार वर्गमा विभाजन गरी फरक–फरक रकमको अनुदान दिने व्यवस्था मिलाइएको छ।
लघु उद्यमीले १५ हजार, साना उद्यमीले २५ हजार, मझौला उद्यमीले ३५ हजार र व्यावसायिक उद्यमीले ४५ हजार रुपैयाँसम्म अनुदान पाउनेछन्। नगरप्रमुख सुरत केसीका अनुसार ताजा तरकारी, मासु र दूध उत्पादनमा आत्मनिर्भरता ल्याउने उद्देश्यले बाख्रापालनतर्फ ८ लाख ७५ हजार, दूध उत्पादनतर्फ ५ लाख ७५ हजार र तरकारी खेतीतर्फ १० लाख रुपैयाँ छुट्याइएको छ। अनुदानका लागि किसानले मासिक उत्पादन लक्ष्य पुरा गर्नुपर्नेछ।
उदाहरणका लागि लघु तरकारी किसानले एक रोपनी क्षेत्रफलमा मासिक १०० केजी, साना किसानले दुई रोपनीमा २०० केजी, मझौला किसानले चार रोपनीमा ४०० केजी र व्यावसायिक किसानले ८ रोपनीमा ८०० केजी तरकारी उत्पादन गरी बिक्री गरेको देखाउनुपर्नेछ।
यस्तै, बाख्रापालन तथा दुग्ध उत्पादनमा पनि वर्गअनुसार संख्या र मात्रा निर्धारण गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माका अनुसार, किसानले तोकिएको मापदण्ड पूरा गरी निवेदन दिएपछि आवश्यक प्रक्रिया पुरा गरी अनुदान वितरण गरिनेछ। कार्यक्रमको उद्देश्य किसानको मनोबल वृद्धि गर्नुका साथै उत्पादनमा लगानी प्रवर्द्धन गर्नु रहेको नगरपालिकाको भनाइ छ।