अष्ट्रेलियामा बढ्दो समुद्री सतहले २०५० सम्म १५ लाख नागरिकलाई जोखिममा पार्ने चेतावनी!

अष्ट्रेलियामा बढ्दो जलवायु जोखिमबारे एक राष्ट्रिय प्रतिवेदन सार्वजनिक भएको छ, जसले सन् २०५० सम्ममा १५ लाखभन्दा बढी नागरिक समुद्री सतह वृद्धिको प्रत्यक्ष प्रभावमा पर्ने चेतावनी दिएको छ । स्वतन्त्र रूपमा सरकारका लागि तयार गरिएको उक्त प्रतिवेदनले तापक्रम वृद्धिले अष्ट्रेलियाको जीवनशैलीमा ‘सिलसिलाबद्ध, जटिल र एकै पटक असर गर्ने’ प्रकारका चुनौती निम्त्याउने उल्लेख गरेको छ । वातावरणमन्त्री क्रिस बोवेनले यसलाई अब भविष्यको पूर्वानुमान नभई भोगाइको वास्तविकता भएको टिप्पणी गर्नुभयो ।
प्रतिवेदनअनुसार, सन् २०९० सम्म जोखिममा पर्ने जनसंख्या दोब्बर भएर ३० लाख पुग्न सक्छ । विशेष गरी उत्तरी अष्ट्रेलियास्थित टोरेस स्ट्रेट टापुहरूमा समुद्री सतह वृद्धि औसतभन्दा छिटो भइरहेको छ । त्यहाँको स्वदेशी समुदायकी प्रतिनिधि जोएन हिलले अब ढिला गर्न नसकिने चेतावनी दिँदै घर, संस्कृति र परम्परा नै समाप्त हुने खतरा देखिएको बताइन् ।
यसैबीच, अष्ट्रेलियाले छिट्टै पेरिस जलवायु सम्झौताअन्तर्गत नयाँ उत्सर्जन कटौती लक्ष्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । रिपोर्टले आर्थिक असर पनि गम्भीर हुने देखाएको छ । सन् २०५० सम्म अष्ट्रेलियाली सम्पत्तिको मूल्य ६११ अर्ब अष्ट्रेलियन डलरले घट्न सक्ने अनुमान गरिएको छ, जुन सन् २०९० सम्म ७७० अर्बसम्म पुग्न सक्छ । तापक्रम ३ डिग्री सेल्सियस बढे सिड्नी जस्ता शहरमा गर्मीजन्य मृत्यु दर ४०० प्रतिशतभन्दा बढीले बढ्ने खतरा उल्लेख गरिएको छ । साथै, अनगन्ती प्रजातिहरू विलुप्त हुनेतर्फ पनि औंला ठाडो गरिएको छ ।
जलवायु काउन्सिलकी प्रमुख कार्यकारी अमान्डा म्याकेन्जीले यस प्रतिवेदनलाई ‘डरलाग्दो’ भन्दै, तत्काल कार्बन उत्सर्जनमा कठोर कटौती गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार, सन् २०३५ सम्म बलियो लक्ष्य निर्धारण र नयाँ प्रदूषणकारी परियोजनाहरू रोके मात्र सुरक्षित भविष्य सम्भव छ ।
तर, नीति र व्यवहारबीचको अन्तर स्पष्ट देखिएको छ । नवीकरणीय ऊर्जामा लगानी बढाउँदै आएको अष्ट्रेलियाले हालै उत्तर–पश्चिम क्षेत्रमा रहेको एक प्रमुख तरल ग्यास (एलएनजी) परियोजनाको अनुमति थप ४० वर्षका लागि लम्ब्याएको छ । यो निर्णयले वातावरणविद् र स्वदेशी समुदायमा असन्तोष बढाएको छ, किनकि परियोजनाबाट हरेक वर्ष १० मिलियन टनभन्दा बढी एलएनजी र पेट्रोलियम उत्पादन हुने अनुमान छ ।
वातावरणमन्त्री बोवेनले भने ऊर्जा संक्रमणको यात्रामा ग्यासलाई नजिकैका वर्षहरूमा आवश्यक वैकल्पिक स्रोतका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै, अष्ट्रेलियामा विश्वकै उत्कृष्ट नवीकरणीय स्रोतहरू उपलब्ध रहेको दाबी गर्नुभयो ।
रिपोर्टले चेतावनी दिएको संकट अष्ट्रेलियाका लागि मात्र नभई विश्वव्यापी जलवायु चुनौतीको प्रतिरूप हो, जसले समयमै ठोस कदम चाल्नुपर्ने तात्कालिक आवश्यकता छ।