मेड्रिडमा पुनः सुरु चीन–अमेरिका व्यापार वार्ता, शुल्क र टिकटक विवाद मुख्य एजेन्डा!

मेड्रिडमा चीन र संयुक्त राज्य अमेरिकाबीच सोमबार व्यापार वार्ता पुनः सुरु भएको छ। दुवै पक्षले हालका विवादले बिगारेको आर्थिक सम्बन्धलाई सहज बनाउन र प्रविधि तथा व्यापारसम्बन्धी तनाव कम गर्न वार्ता अघि बढाएका हुन्।
वार्तामा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले नेतृत्व गरेका छन्। स्पेनको विदेश मन्त्रालयमा भएको छलफल आइतबार प्रारम्भ भई सोमबारदेखि पुनः जारी छ र बुधबारसम्म चल्ने कार्यक्रम रहेको छ। एएफपीका अनुसार सोमबार बिहानै दुवै पक्षका उच्च अधिकारीहरू मन्त्रालयको मुख्यालयमा प्रवेश गरेका देखिएका थिए।
वार्ताको एजेन्डामा दुई प्रमुख विषय छन्—अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमा थप भन्सार शुल्क लगाउने चेतावनी र वासिङ्टनले टिकटकलाई सेप्टेम्बर १७ सम्म गैर-चिनियाँ मालिकलाई बेच्नुपर्ने वा प्रतिबन्धको सामना गर्नुपर्ने माग। यी मुद्दाले वार्तालाई संवेदनशील बनाएका छन्।
यसअघि दुवै मुलुकले एक–अर्काका सामानमा सय प्रतिशत नजिक पुग्ने गरी भन्सार शुल्क लगाउँदा आपूर्ति शृङ्खला अवरुद्ध भएको थियो। पछिल्लो सहमतिअनुसार अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार शुल्क फिर्ता लिएका थिए, तर यो अस्थायी युद्धविराम नोभेम्बरसम्म मात्र कायम रहने उल्लेख गरिएको छ।
गत सातामात्रै बेइजिङले विवाद समाधानका लागि ‘आपसी सम्मान र समान परामर्श’ को आधारमा अघि बढ्न वासिङ्टनलाई आग्रह गरेको थियो। तर सप्ताहन्तमै चीनले अमेरिकी सेमिकन्डक्टर उद्योगमाथि अनुसन्धान सुरु गरेपछि सम्बन्ध अझै तनावपूर्ण रहेको देखिन्छ।
यी छलफलले वर्षको अन्त्यतिर अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच सम्भावित शिखर सम्मेलनको तयारीको वातावरण बनाउन सक्ने अनुमान गरिएको छ। तर त्यसअघिसम्म वार्ताकारहरूले प्रविधि पहुँच, भन्सार शुल्क र दुर्लभ खनिज निर्यातसम्बन्धी विवाद हल गर्दै अस्थायी युद्धविरामलाई टिकाइराख्ने कठिन चुनौती सामना गर्नुपर्नेछ।