समाचार विदेश

बङ्गलादेश अन्तरिम सरकार ‘जुलाई चार्टर’मा सहमत, कार्यान्वयन प्रक्रियामा दलबीच मतभेद!

बङ्गलादेश अन्तरिम सरकार ‘जुलाई चार्टर’मा सहमत, कार्यान्वयन प्रक्रियामा दलबीच मतभेद!

बङ्गलादेशको अन्तरिम सरकारले राजनीतिक सुधारको खाका अघि सार्दै सोमबार सबै दललाई समेट्ने ‘व्यापक सुधार चार्टर’मा सैद्धान्तिक सहमति भएको जानकारी दिएको छ । तर यसको कार्यान्वयनका विषयमा भने मतभेद झल्किएको छ । यो प्रक्रिया गत वर्ष अगस्टमा भएको विद्यार्थी आन्दोलनपछि सुरु भएको हो, जसले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई पदच्युत गरेको थियो । त्यसयता १७ करोड जनसङ्ख्याको देश अस्थिर राजनीतिक अवस्थाबाट गुज्रिरहेको छ ।

अन्तरिम नेता नोबेल विजेता मुहम्मद युनुसले सो आन्दोलनपछि तयार गरिएको २८ पृष्ठ लामो ‘जुलाई चार्टर’ लाई खुलेर समर्थन गर्दै आएका छन् । यस चार्टरमा प्रधानमन्त्रीलाई दुई कार्यकालमै सीमित गर्ने र राष्ट्रपतिको अधिकार बढाउनेजस्ता संवैधानिक संरचनासम्बन्धी प्रस्तावहरू समावेश छन् ।

सहमति आयोगका उपाध्यक्ष अली रियाजका अनुसार करिब ३० राजनीतिक दलसँग वार्ता गरिएको छ । आइतबार सम्पन्न दोस्रो चरणको वार्तापछि उहाँले दलहरू ८४ वटा सुधार बुँदामा सहमत भएको तर कार्यान्वयनको तरिकाबारे मतभेद देखिएको जानकारी दिनुभयो । उहाँका शब्दमा, “कागजात तयार भइसकेको छ, अब विवाद यसको कानूनी आधार र कार्यान्वयन प्रक्रियामा छ ।”

मुख्य विवाद संविधानको स्थानबारे हो । आलोचकहरूले फेब्रुअरीमा हुने भनिएको निर्वाचन नभएसम्म चार्टरले संविधानलाई ओभरराइड गर्न नसक्ने दाबी गरेका छन् । उनीहरूका अनुसार यसलाई अनुमोदन गर्ने अधिकार नयाँ संसद्लाई मात्र हुन्छ । शक्तिशाली बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) संसद् बाट निर्णय हुनुपर्ने अडानमा छ भने इस्लामवादी जमात-ए-इस्लामी लगायत केही दलले तुरुन्तै अनुमोदन गर्नुपर्ने धारणा राखेका छन् ।

जमात-ए-इस्लामीले चार्टर पारित गर्न दबाब दिने उद्देश्यले सेप्टेम्बर १८ मा ढाकामा र सेप्टेम्बर २६ मा देशव्यापी र्याली गर्ने कार्यक्रम घोषणा गरेको छ । रियाजले दलहरूलाई हस्ताक्षरका लागि प्रतिनिधि नामाङ्कन गर्न आग्रह गरिएको जानकारी दिएका छन् ।

यसैबीच अन्तरिम नेता युनुसले सहमतिलाई चुनावी सफलतासँग जोड्दै एकताको आवश्यकता औँल्याएका छन् । उहाँले भनेका छन्, “हामी असहमतिमा अन्त्य गर्न सक्दैनौँ । चुनाव सफल बनाउन सहमति अपरिहार्य छ ।” बङ्गलादेशको राजनीतिक संक्रमण कुन दिशामा मोडिने भन्ने प्रश्न अब दलहरूको सहकार्यमा टेकेको छ ।