मेड्रिड वार्तामा अमेरिका–चीन टिकटक विवाद समाधानतर्फ नजिक!

संयुक्त राज्य अमेरिका र चीनबीच मेड्रिडमा सुरु भएको पछिल्लो व्यापार वार्तामा टिकटक सम्बन्धी विवाद समाधान गर्ने विषय केन्द्रमा परेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार पत्रकारसँग कुरा गर्दै, “हामी सम्झौतामा निकै नजिक छौँ,” भन्नुभयो। उहाँले सहमति नजुटे पनि दुई मुलुकबीचको समग्र सम्बन्धमा नकारात्मक असर नपर्ने दाबी गर्नुभयो।
अर्थमन्त्री बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबारदेखि वार्ता सुरु गर्नुभएको हो। स्पेनको राजधानीमा जारी यो छलफल बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ। त्यही दिन अमेरिकाले टिकटकका लागि गैर–चिनियाँ खरिदकर्ता फेला पार्ने वा एपले प्रतिबन्धको सामना गर्ने समय सीमा पनि तोकिएको छ।
टिकटक चीनमा आधारित कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ। अमेरिकी राष्ट्रिय सुरक्षासम्बन्धी चिन्तालाई देखाउँदै यस एपलाई बेच्न वा प्रतिबन्ध लगाउनुपर्ने कानुन गत जनवरी २० देखि कार्यान्वयनमा आएको थियो। यो मिति पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनु भन्दा एक दिन अगाडि लागू भएको हो। तर, चुनावी अभियानमा टिकटकलाई युवामाझ लोकप्रिय बनाउन सकिने विश्वास गर्दै ट्रम्पले प्रत्यक्ष प्रतिबन्धमा रोक लगाउनुभएको थियो।
जुन महिनाको मध्यतिर ट्रम्प प्रशासनले थप ९० दिनको समयसीमा दिँदै वैकल्पिक खरिदकर्ता खोज्ने वा अमेरिकामा प्रतिबन्ध स्वीकार गर्ने विकल्प दिएको थियो। उक्त समय सीमा यही बुधबार समाप्त हुँदैछ। सुरुमा विभाजन वा प्रतिबन्धको पक्षमा देखिएका ट्रम्प पछिल्लो समय आफ्नो अडान बदल्दै टिकटकलाई जोगाउने प्रतिबद्धता जनाउनुभएको छ। करिब दुई अर्ब प्रयोगकर्ता भएको यो प्लेटफर्मले नोभेम्बरको अमेरिकी चुनावमा युवा मतदाताको समर्थन निर्णायक रूपमा प्रभावित गर्ने विश्वास गरिएको छ।
मेड्रिड वार्तामा दुई मुलुकबीचको व्यापार तनावसम्बन्धी मुद्दा पनि समेटिएको छ। यसअघि ट्रम्पले चिनियाँ सामानमा थप कडा भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए। वर्षको सुरुमा बढेको तनावपछि प्रतिशोधात्मक कर दर तीन अंकसम्म पुगेका थिए, जसले आपूर्ति शृङ्खलामा ठूलो असर पारेको थियो। पछिल्ला वार्ताले अमेरिकी निर्यातमा ३० प्रतिशत र चिनियाँ सामानमा १० प्रतिशत भन्सार शुल्क फिर्ता गर्ने सहमति निकाले पनि अस्थायी युद्धविराम नोभेम्बरमा समाप्त हुने तय भएको छ।
वार्ताको परिणाम टिकटक मात्र नभई विश्वकै दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध र भविष्यको व्यापार समीकरणमा पनि महत्वपूर्ण मोड ल्याउने संकेत देखिएको छ।