गाजामा इजरायली आक्रमण तीव्र, संयुक्त राष्ट्रसङ्घद्वारा नागरिक सुरक्षा र मानवीय पहुँच सुनिश्चित गर्न आग्रह!

गाजामा पछिल्ला दुई दिनयता इजरायली सैन्य कारबाही अझै तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ नागरिकको ज्यान गएको र धेरै घाइते भएको पुष्टि भएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले सोमबार आफ्नो दैनिक पत्रकार सम्मेलनमा गाजामा पहिलेदेखि नै ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकमाथि तीव्र आक्रमणको विनाशकारी प्रभाव परेको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै नागरिक र मानवीय कामदारको सुरक्षा सुनिश्चित गर्न इजरायललाई आह्वान गर्नुभयो ।
डुजारिकले युएनआरडब्लुई (UNRWA) का आयुक्त–जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गत चार दिनमै एजेन्सीका १० वटा भवन बम आक्रमणबाट नष्ट भएको जानकारी दिनुभयो । तीमध्ये सात विद्यालय र दुई स्वास्थ्य क्लिनिक समेत थिए, जसलाई हजारौँ विस्थापितहरूले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।
उहाँका अनुसार गाजाको दक्षिणतर्फ जान खुला रहेको एक मात्र मार्ग ‘राशिद रोड’ अत्यधिक भीडभाडयुक्त बनेको छ । विस्थापितहरू त्यही बाटो प्रयोग गर्न बाध्य भए पनि मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) का अनुसार, दक्षिण सर्नका लागि लाग्ने लागत एक हजार छ सय अमेरिकी डलरसम्म पुगेकाले धेरैजना त्यस्तो खर्च बेहोर्न नसकी उत्तरी भागमै बस्न बाध्य छन् ।
डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँच बिना विशेष गरी बालबालिकामा भोकमरी अझ चर्किने चेतावनी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसङ्घका साझेदारलाई उद्धृत गर्दै गाजा सहरका करिब एक तिहाइ कुपोषण उपचार केन्द्र जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको तथ्य पनि प्रस्तुत गर्नुभयो ।
गाजाको बिग्रँदो अवस्थाले अन्तर्राष्ट्रिय कानुनी दायित्व र मानवीय जिम्मेवारीलाई पुनः प्रश्नमा ल्याएको छ, जसको दीर्घकालीन समाधान अझै अनिश्चित देखिन्छ ।