स्वास्थ्य

नेपालगन्जमा एक वर्षमै ४० हजार कान बिरामीको उपचार, शल्यक्रियामा उल्लेख्य सफलता!

नेपालगन्जमा एक वर्षमै ४० हजार कान बिरामीको उपचार, शल्यक्रियामा उल्लेख्य सफलता!

पश्चिम नेपालको नेपालगन्जस्थित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा कानसम्बन्धी उपचार लिन आउने बिरामीको संख्या पछिल्लो वर्ष उल्लेख्य रूपमा बढेको देखिएको छ। केन्द्रका अनुसार २०८१/८२ आर्थिक वर्षमा मात्र ३९ हजार ५३७ जना बिरामीले उपचार सेवा लिएका छन्। अघिल्लो वर्ष यो संख्या ३५ हजार ८३४ थियो, जसले छोटो अवधिमा बिरामी चाप उल्लेखनीय बढेको संकेत गर्छ।

केन्द्रका प्रबन्धक चेतनारायण चौधरीले दिएको तथ्याङ्कअनुसार सेवा लिनेमा २४ हजार ५०३ जना महिला र १५ हजार ३४ जना पुरुष रहेका थिए। सो अवधिमा ७८४ वटा शल्यक्रिया गरिएकोमा ५८१ मेजर र २०३ माइनर शल्यक्रिया थिए। कानको जाली प्वाल हुने, हड्डी खाने समस्या जस्ता जटिल अवस्थाको पनि सफल उपचार गरिएको केन्द्रले जनाएको छ।

ईएनटी सर्जन डा. आनन्द झाले धेरै बिरामीको जटिल शल्यक्रिया सफल भएको जानकारी दिएका छन्। गत वर्ष सो अस्पतालमा ७२६ वटा शल्यक्रिया गरिएको थियो। यसपालि उपचारसँगै ४ हजार २७ जनाको सुनुवाइ क्षमता परीक्षण र ९६० जनाको ल्याब परीक्षण गरिएको अस्पतालले सार्वजनिक गरेको छ। अघिल्लो वर्ष यी संख्या क्रमशः ४ हजार २१९ र ९२१ थिए।

डा. आनन्द झा, डा. अजय वैश्य, डा. लोकनाथ वर्मा लगायतको टोलीले नियमित रूपमा उपचार सेवा प्रदान गर्दै आएको छ। नेपालका विभिन्न जिल्ला मात्र होइन, सीमापार भारतका बिरामी पनि उपचारका लागि नेपालगन्ज आउने गरेका छन्।

फत्तेबाल आँखा अस्पतालसँगै ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र पश्चिम नेपालको प्रमुख स्वास्थ्य गन्तव्य बन्न गएको छ। कानसम्बन्धी रोगका बिरामी बढ्दै गएको तथ्याङ्कले जनस्वास्थ्यमा नयाँ चुनौती र विशेषज्ञ सेवाको आवश्यकता अझै गहिरिँदै गएको प्रष्ट देखिन्छ।