अर्थ

जेनजी आन्दोलनका कारण बीमा दाबी २२ अर्ब नाघ्यो!

जेनजी आन्दोलनका कारण बीमा दाबी २२ अर्ब नाघ्यो!

जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा दाबीको परिमाण २२ अर्ब २५ करोड रुपैयाँभन्दा माथि पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार भदौ २३ र २४ गतेका घटनापछि हालसम्म १८ बीमा कम्पनीमा जम्मा दुई हजार ४७८ दाबी दर्ता भएका छन्।

यीमध्ये सबैभन्दा बढी दाबी बागमती प्रदेशमा दर्ता भएका छन्, जसको मूल्य करिब १७ अर्ब ९७ करोड रुपैयाँ बराबर छ। यस प्रदेशमै मात्र एक हजार ३४३ दाबी परेका प्राधिकरणले जनाएको छ। कोशी प्रदेशबाट ३२२, मधेशबाट २४६, गण्डकीबाट १८४, लुम्बिनीबाट २०२, कर्णालीबाट २२ र सुदूरपश्चिमबाट १५९ दाबी परेका छन्।

बीमा वर्गीकरणअनुसार सम्पत्ति बीमामा ५३८, मोटर बीमामा १,७७८, इञ्जिनियरिङ तथा ठेकेदार सम्बन्धी बीमामा १३२, परिवहन बीमामा ११ र अन्य शीर्षकमा १९ दाबी परेका छन्। प्राधिकरणले निजी सम्पत्तिमा केन्द्रित क्षति बढी भएकाले बीमा दाबीको मात्रा अझै बढ्न सक्ने संकेत गरेको छ।

कम्पनीगत विवरणअनुसार ओरियन्टल इन्स्योरेन्समा मात्रै ५ अर्ब २२ करोडभन्दा बढी, र सिद्धार्थ इन्स्योरेन्समा करिब ५ अर्ब ८ करोड बराबरको दाबी दर्ता भएको छ।

यो तथ्यांकले आन्दोलनका कारण भएको आर्थिक क्षति बीमा क्षेत्रमा प्रत्यक्ष रूपमा प्रतिबिम्बित भएको देखाउँछ। आगामी दिनमा दाबी मूल्यांकन र भुक्तानी प्रक्रियाले प्रभावित क्षेत्रको आर्थिक पुनर्स्थापनामा कस्तो गति ल्याउँछ भन्ने प्रश्न अझै खुला छ।