अटोमोबाइल उद्योगलाई लक्षित सरकारको विशेष प्याकेजप्रति नाडाको सकारात्मक प्रतिक्रिया!
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले अटोमोबाइल उद्योगलाई लक्षित गर्दै सरकारले घोषणा गरेको विशेष राहत प्याकेजलाई स्वागत गरेको छ। हालैको जेन–जेड आन्दोलनका कारण क्षति बेहोरेका उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानको समस्यालाई सम्बोधन गर्ने उद्देश्यले सरकारले ल्याएको निर्णयलाई नाडाले उद्योग–व्यवसायप्रति सरकारको सकारात्मक प्रतिबद्धता भएको प्रमाणका रूपमा लिएको हो।
नाडाका अध्यक्ष करणकुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई अटोमोबाइल उद्योग गम्भीर रूपमा प्रभावित भएको भन्दै राहत प्याकेज ल्याउन आग्रह गरेको थियो। संघका अनुसार उक्त मागलाई सरकारले प्राथमिकताका साथ सम्बोधन गर्दै बीमा अग्रिम भुक्तानी, सहुलियत कर्जा, कर–भन्सारमा छुट र ऋणी व्यवसायीका लागि अवधि थप्ने जस्ता प्रावधानसहितको प्याकेज सार्वजनिक गरेको छ।
नाडाले जारी गरेको विज्ञप्तिमा अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने क्षेत्र भएको उल्लेख गरिएको छ। यस उद्योगले हजारौं रोजगारी सिर्जना गर्ने, ठूलो मात्रामा कर–राजस्व संकलन हुने र आपूर्ति प्रणालीलाई सुदृढ पार्ने भूमिका निर्वाह गर्दै आएको बताइएको छ। तर पछिल्ला घटनाबाट यो क्षेत्रमा देखिएको क्षति र उपभोक्ताको विश्वासमा परेको असरलाई सम्बोधन गर्ने उपायका रूपमा सरकारले ल्याएको प्याकेजले उद्योगी व्यवसायीलाई आत्मबल दिएको नाडाको ठहर छ।
यससँगै नाडाले राहतको दायरालाई अझ व्यापक बनाउन सरकारसँग आग्रह गरेको छ। संघका अनुसार आन्दोलन प्रभावित व्यवसाय मात्र नभई सम्पूर्ण सवारीसाधन क्षेत्रलाई सहजता दिने खालका निर्णयले माग पुनर्जीवित हुने, लगानी प्रवाह बढ्ने, रोजगारी सुरक्षित हुने र राजस्वमा निरन्तरता रहनेछ। दीर्घकालीन रूपमा कस्टम्स सुधार, पूर्वाधार विस्तार र हरित विकासतर्फ उन्मुख नीतिगत प्रगतिको आवश्यकता पनि संघले औंल्याएको छ।
नाडाले अटोमोबाइल क्षेत्रलाई पुनः स्थिरतामा फर्काउन सरकारले चालेको कदमलाई उद्योग, व्यवसाय र सरकारबीचको सहकार्य मजबुत गर्ने अवसरका रूपमा लिएको छ। संघले नीतिगत सुधारको निरन्तरता र कार्यान्वयनमा ध्यान दिइए अटोमोबाइल उद्योगले अर्थतन्त्रलाई पुनर्जीवित गर्न ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।

