ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री सरिफबीच ओभल अफिसमा उच्चस्तरीय बैठक!

ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफबीच बिहीबार ओभल अफिसमा उच्च–स्तरीय बैठक हुने तालिका सार्वजनिक गरेको छ। यसअघि संयुक्त राष्ट्रसंघको ८० औँ महासभामा सहभागी भएपछि सरिफ वाशिङ्टन पुग्नेछन्।
महासभा साइडलाइनमा मंगलबार ट्रम्प र सरिफबीच अनौपचारिक भेटघाट भएको थियो। पाकिस्तानी विदेशमन्त्रीका अनुसार सो भेटमा उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दार पनि सहभागी थिए। यसअघि बुधबार जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै सरिफले पाकिस्तानको ऋण समस्या समाधान नगरी विश्वव्यापी संकट समाधान सम्भव नहुने चेतावनी दिएका थिए, जसले इस्लामाबादले हरितगृह ग्यास उत्सर्जन घटाउने प्रतिबद्धतालाई कमजोर बनाएको टिप्पणी गरिएको छ।
तालिकाअनुसार सरिफसँगको बैठकअघि राष्ट्रपति ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन्, जसमा टिकटकसम्बन्धी सुरक्षा सम्झौता समावेश हुनेछ। सम्झौता अन्तर्गत अमेरिकी लगानीकर्ताले टिकटकको बहुमत स्वामित्व लिनेछन्, र राष्ट्रिय सुरक्षा तथा साइबर विशेषज्ञता भएको बोर्डमार्फत सञ्चालन हुनेछ। ओरेकललाई अमेरिकी प्रयोगकर्ताको डाटा भण्डारण र निगरानीको जिम्मेवारी दिइएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार सम्झौतामा यसै हप्ताभित्र राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्नेछन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले समेत अमेरिकामा टिकटक सञ्चालनलाई निरन्तरता दिन सहमति जनाएका छन्। यसअघि ट्रम्प–सीबीच टेलिफोन वार्तापछि बाइटडान्सले आवश्यक प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो।
सन् २०२४ अप्रिलमा पारित अमेरिकी कानुनअनुसार टिकटक जनवरी १९ देखि प्रतिबन्धित हुने प्रावधान थियो। तर प्रस्तावित सम्झौता कार्यान्वयन भएपछि अमेरिकी लगानीकर्ताले ८० प्रतिशत र चिनियाँ कम्पनीहरूले २० प्रतिशत स्वामित्व राख्ने योजना रहेको द वाल स्ट्रिट जर्नल र द न्युयोर्क टाइम्सले जनाएका छन्।
यसैबीच, ट्रम्पले बिहीबारको कार्यक्रमको सुरुआत टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको भेटबाट गर्ने तालिका सार्वजनिक गरिएको छ।