फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीमाथि गद्दाफीको अवैध सहयोग प्रकरणमा अदालतको फैसला बिहीबार

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीमाथि सन् २००७ को राष्ट्रपति चुनाव अभियानमा तत्कालीन लिबियाली शासक मुअम्मर गद्दाफीको सरकारबाट अवैध आर्थिक सहयोग पाएको आरोपमा पेरिसको अदालतले बिहीबार फैसला सुनाउँदैछ। दोषी ठहर भएमा ७० वर्षीय सार्कोजी अवैध विदेशी कोष स्वीकार गरी पद जित्ने पहिलो पूर्वराष्ट्रपति हुनेछन्।
सार्कोजीले यस वर्षको सुरुआतमा तीन महिनासम्म चलेको सुनुवाइमा तीन पूर्वमन्त्रीसहितका ११ सह–प्रतिवादीसँगै सबै आरोप अस्वीकार गरेका थिए। अभियोजन पक्षले सात वर्षसम्मको जेल सजाय माग गरेको छ। दोषी ठहर भए पनि सार्कोजीले अपिल गर्न पाउने भएकाले सजाय तत्काल कार्यान्वयन हुने छैन।
लिबियाली सञ्चारमाध्यम र गद्दाफी आफैंले चुनाव अभियानमा करोडौं युरो खर्च गरेको दाबी गरेपछि २०११ मा यो मुद्दाको जरा देखिएको थियो। २०१२ मा अनुसन्धानात्मक वेबसाइट मिडियापार्टले पाँच करोड युरो कोष सम्झौतासम्बन्धी लिबियाली गुप्तचरको मेमो सार्वजनिक गरेको थियो। सार्कोजीले कागजातलाई नक्कली भन्दै मानहानि मुद्दा दायर गरे पनि न्यायाधीशहरूले त्यसलाई प्रामाणिक ठहर गरेका थिए।
अनुसन्धानमा २००५ देखि २००७ को बीचमा गृहमन्त्री रहेका बेला सार्कोजीका सहायकहरूको लिबियाली प्रतिनिधिसँगको सम्पर्क देखिएको थियो। सन् २०१६ मा व्यापारी जियाद ताकिडाइनले त्रिपोलीबाट नगदले भरिएका सुटकेस फ्रान्स ल्याएको बताएका थिए, तर पछि बयान फिर्ता लिए। ताकिडाइनको यसै हप्ताको मंगलबार बेरुतमा ७५ वर्षको उमेरमा निधन भएको छ।
सार्कोजीमाथि निष्क्रिय भ्रष्टाचार, अवैध अभियान वित्तपोषण, सार्वजनिक कोष दुरुपयोग लुकाउने र आपराधिक संगठनसम्बन्धी आरोप छन्। उनी भने यसलाई ‘गद्दाफी परिवार र झुट बोल्नेहरूद्वारा मञ्चित षड्यन्त्र’ भन्दै अस्वीकार गर्दै आएका छन्। उनका अनुसार गद्दाफी शासनलाई हटाउन पहल गरेको प्रतिशोधस्वरूप आफूलाई मुद्दामा तानिएको हो।
यसअघि पनि सार्कोजी कानुनी धक्काबाट गुज्रिएका छन्। सन् २०१४ मा घुस दिने प्रयास गरेको अभियोगमा एक वर्षको निगरानी सजाय पाएका थिए भने २०२१ मा २०१२ को असफल पुनः निर्वाचन अभियानमा खर्च सीमा नाघेको आरोपमा एक वर्षको जेल सजाय सुनाइएको थियो, जसको आधा निलम्बित गरिएको छ। जुन महिनामा अर्को मुद्दामा दोषी ठहर भएपछि फ्रान्सको सर्वोच्च सम्मान ‘लिजन अफ अनर’ पनि उनलाई खोसिएको थियो।
यो मुद्दाको फैसला केवल सार्कोजीको व्यक्तिगत राजनीतिक भविष्यका लागि होइन, फ्रान्सको राजनीतिक–न्यायिक इतिहासमा पनि महत्वपूर्ण माइलस्टोन बन्ने अपेक्षा गरिएको छ।