अमेरिकाले औषधि, भारी ट्रक र फर्निचरमा उच्च भन्सार शुल्क घोषणा!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो व्यापार नीतिलाई कडा बनाउँदै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अक्टोबर १ देखि लागू हुने यस नीतिलाई उनले अमेरिकी उद्योगलाई बलियो बनाउन “राष्ट्रिय सुरक्षासँग सम्बन्धित कदम” भनेर औंल्याएका छन्।
घोषणाअनुसार अमेरिकाभित्र उत्पादन नभएका ब्रान्डेड वा पेटेन्टेड औषधिमा १०० प्रतिशत भन्सार लाग्नेछ। “जबसम्म कुनै कम्पनीले अमेरिकामा औषधि कारखाना खोल्दैन, कर तिर्नैपर्छ,” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत लेखे। अस्ट्रेलियाले यस कदमको तीव्र आलोचना गर्दै अमेरिकी उपभोक्तामाथि प्रत्यक्ष भार पर्ने चेतावनी दिएको छ। सन् २०२४ मा मात्रै अस्ट्रेलियाले करिब १.३५ अर्ब डलर मूल्यका औषधि अमेरिकामा निर्यात गरेको संयुक्त राष्ट्रसंघको तथ्यांक देखाउँछ।
औषधिपछि ट्रम्पले विदेशी भारी ट्रकमाथि २५ प्रतिशत कर घोषणा गरेका छन्। यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलरजस्ता कम्पनीलाई प्रत्यक्ष असर पुर्याएको छ। युरोपेली बजार खुल्दा दुबै कम्पनीको सेयर मूल्य तीव्र रूपमा घटेको छ। ट्रम्पले यसलाई अमेरिकी उत्पादक पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर र म्याक ट्रकलाई सहयोग पुर्याउने उपायका रूपमा प्रस्तुत गरेका छन्।
घर नवीकरणका सामग्री र फर्निचरमा पनि उच्च दर तोकिएको छ। सबै किचन क्याबिनेट र बाथरुम भ्यानिटीमा ५० प्रतिशत, जबकि अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइने घोषणा गरिएको छ। अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा बिक्री भएको फर्निचरको ६० प्रतिशत आयातमा आधारित थियो। घोषणापछि वेफेयर र विलियम्स सोनोमाजस्ता खुद्रा कम्पनीको सेयर मूल्य तत्काल घट्यो।
अघिल्लो वर्षदेखि ट्रम्प प्रशासनले आधारभूत रूपमा सबै देशका सामानमा १० प्रतिशत कर तोकेको थियो, जसमा व्यापार असन्तुलन बढी भएका मुलुकलाई अझै उच्च दर लागू गरिएको थियो। उनले फेन्टानिल तस्करी र अवैध आप्रवासनलाई कारण देखाउँदै क्यानाडा, मेक्सिको र चीनमाथि थप कर लगाउने आपतकालीन शक्ति पनि प्रयोग गरेका छन्।
विश्लेषकहरूले यी नयाँ करहरूले मुद्रास्फीतिको दबाब बढाउने चेतावनी दिएका छन्। तर ट्रम्पले यसलाई आधुनिक अमेरिकाको आयात–निर्भर नीतिलाई उल्ट्याउँदै संरक्षणवादी शैलीमा उद्योग पुनर्निर्माण गर्ने अभियानको हिस्सा बताइरहेका छन्। अब आगामी हप्तादेखि लागू हुने यी शुल्कले विश्वव्यापी आपूर्ति शृंखला र अमेरिकी अर्थतन्त्रलाई कस्तो असर पार्छ भन्ने चासो झन् बढेको छ।