विदेश

नेतान्याहु स्लोभेनिया प्रवेशमा प्रतिबन्धित! आइसिसी आदेशपछि कडा कदम

नेतान्याहु स्लोभेनिया प्रवेशमा प्रतिबन्धित! आइसिसी आदेशपछि कडा कदम

 स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। स्लोभेनियाली विदेश मन्त्रालयकी अधिकारी नेभा ग्रासिकले एसटीए समाचार एजेन्सीसँग कुरा गर्दै यो कदम अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले जारी गरेको गिरफ्तारी वारेन्टसँग प्रत्यक्ष रूपमा सम्बन्धित भएको स्पष्ट पारिन्।

करिब २० लाख जनसङ्ख्या भएको यो युरोपेली सङ्घ सदस्य राष्ट्रले गत वर्ष प्यालेस्टिनी राज्यलाई औपचारिक मान्यता दिएको थियो। गाजामा इजरायलका सैन्य गतिविधिप्रति तीव्र आलोचक रहँदै आएको स्लोभेनियाले नेतान्याहुविरुद्ध प्रतिबन्ध लगाएर आफ्नो नीति अझ स्पष्ट पारेको देखिन्छ। यसअघि पनि स्लोभेनियाले इजरायली राष्ट्रिय सुरक्षामन्त्री इटामार बेन–गभिर र अर्थमन्त्री बेजलेल स्मोट्रिचलाई प्रवेश प्रतिबन्ध लगाइसकेको थियो। साथै, इजरायललाई हतियार आपूर्ति रोकेको निर्णय पनि यसअघि सार्वजनिक भइसकेको छ।

विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायलको अवैध उपस्थितिलाई कुनै पनि देशले मान्यता दिन नहुने र त्यसलाई कायम राख्न सहयोग गर्न नहुने प्रस्ट पारेको छ। मन्त्रालयका अनुसार, “यो निर्णयले इजरायललाई स्पष्ट सन्देश दिन्छ—स्लोभेनियाले अन्तर्राष्ट्रिय अदालतको आदेश र मानवीय कानुनप्रति सम्मानको अपेक्षा गर्दछ।”

स्लोभेनियाली सरकारले सामाजिक सञ्जाल एक्समार्फत अन्तर्राष्ट्रिय कानून, मानव अधिकार र सुसङ्गत विदेश नीतिप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको छ। यस्तो कदमले इजरायल–प्यालेस्टाइन विवादप्रति स्लोभेनियाको दीर्घकालीन धारणा र अन्तर्राष्ट्रिय कानुनी निकायप्रतिको समर्थनलाई झन् सुदृढ बनाएको देखिन्छ।