मिचिगनस्थित मोर्मोन चर्चमा आक्रमण : चारको मृत्यु, आठ घाइते

मिचिगनस्थित मोर्मोन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। ग्रान्ड ब्लाङ्कका प्रहरी प्रमुख विलियम रेनीका अनुसार आक्रमणकारीले पहिलोमा आफ्नै गाडी चर्च भवनमा ठोक्काए, त्यसपछि भवनमा आगो लगाउँदै राइफलले अन्धाधुन्ध गोली चलाएको थियो। आपतकालीन कल आएको आठ मिनेटमै प्रहरी घटनास्थल पुगेको र पार्किङ क्षेत्रमा आक्रमणकारीलाई गोली हानेर मारिएको उनले जानकारी दिए।
प्रहरीले आक्रमणकारीको पहिचान ४० वर्षीय थोमस ज्याकब सानफोर्डका रूपमा गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी सो क्षेत्रमा हुर्किएका र सैन्य सेवामा संलग्न भइसकेका व्यक्ति थिए। सुरुमा दुई जनाको मृत्यु पुष्टि भए पनि पछि जलेको भग्नावशेषभित्र थप दुई शव भेटिएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
एफबिआईका विशेष एजेन्ट रुबेन कोलम्यानले यस घटनालाई लक्षित हिंसाको कार्यका रूपमा लिएको बताएका छन्। उनका अनुसार अनुसन्धानमा संघीय निकाय सक्रिय सहभागी भएको छ। घटनाको समयमा चर्चभित्र सयौँ मानिस उपस्थित भएकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका प्रहरीले जनाएको छ।
आक्रमणपछि चर्च अफ जीसस क्राइस्ट अफ लेटर–डे सेन्ट्स (मोर्मोन चर्च) को अधिकांश संरचना जलेर ध्वस्त भएको छ। तस्बिरमा आक्रमणकारीले दुईवटा अमेरिकी झण्डा झुण्ड्याइएको ट्रक चर्च भवनतर्फ चलाएको देखिएको छ। चर्चले विज्ञप्ति जारी गर्दै पूजास्थललाई शान्ति र प्रार्थनाको स्थान बताउँदै यस हिंसालाई ‘दुखद कार्य’ भनेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो आक्रमणलाई “संयुक्त राज्य अमेरिकामा इसाईमाथि भएको अर्को लक्षित हिंसा” को संज्ञा दिँदै यसलाई ‘राष्ट्रिय हिंसाको महामारी’ को दुःखद उदाहरण भनेका छन्। ट्रुथ सोसलमार्फत उनले लेखेका छन्, “हाम्रो देशमा हिंसाको यो प्रकोप तुरुन्त अन्त्य हुनुपर्छ।” साथै उनले वामपन्थी समूहहरूलाई ‘घरेलु आतङ्कवादी’ का रूपमा आरोप लगाउँदै कडा अभियान सुरु गर्ने घोषणा गरेका छन्।
मोर्मोन चर्च सन् १८३० मा स्थापना भएको हो र आज विश्वभर लाखौँ अनुयायीसहित मुख्यतः अमेरिकाको युटाह राज्यमा केन्द्रित छ। आक्रमणसँगै अमेरिकामा बन्दुक हिंसाको चुनौती पुनः सतहमा आएको छ, जहाँ हालसालै युटाहमा दक्षिणपन्थी कार्यकर्ता चार्ली किर्कको हत्या, टेक्सासको सङ्घीय अध्यागमन केन्द्रमा आक्रमण र मिनेसोटाको क्याथोलिक चर्चमा सामूहिक गोलीबारी जस्ता घटनाले सार्वजनिक चिन्ता बढाएका थिए।
यस घटनाले अमेरिकामा बन्दुक हिंसा र राजनीतिक ध्रुवीकरणबीचको सम्बन्धलाई अझै तीव्र बनाएको छ। पीडित परिवार र स्थानीय समुदाय आक्रोशित छन् भने संघीय निकायमाथि भविष्यमा यस्ता आक्रमण रोक्न कस्तो ठोस कदम चालिन्छ भन्ने प्रश्न खुलेर उठेको छ।