ट्रम्पको असामान्य कदम: सयौँ अमेरिकी जनरल–एडमिरललाई आकस्मिक बैठकमा बोलाइयो!

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार बिहान क्वान्टिकोमा भेला गराइएका सयौँ वरिष्ठ सैन्य अधिकारीहरूलाई सम्बोधन गर्ने भएका छन्। ह्वाइट हाउसले यस कार्यक्रमलाई ‘युद्ध विभागलाई टिप्पणी’ शीर्षकमा तालिकाबद्ध गरे पनि बैठकको आधिकारिक कारण सार्वजनिक गरिएको छैन।
यो असामान्य जमघटलाई लिएर ठूला नीतिगत घोषणा वा संरचनागत परिवर्तन हुनसक्ने अड्कलबाजी बढेको छ। बैठकमा एक–तारा वा सोभन्दा माथिका पदाधिकारीहरूलाई बोलाइएको छ, जुन अमेरिकी सेनाको उच्च तहको समन्वयलाई संकेत गर्ने देखिन्छ। उपराष्ट्रपति जेडी भान्सले यसलाई ‘असामान्य होइन’ भनेका छन् भने पेन्टागन प्रवक्ता सीन पार्नेलले केवल रक्षा मन्त्री पिट हेग्सेथले आफ्ना वरिष्ठ कमाण्डरलाई सम्बोधन गर्ने जानकारी दिएका छन्।
राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल प्रारम्भ गरेयता ज्वाइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चाल्र्स ‘सीक्यु’ ब्राउनलगायत उच्च अधिकारीहरूलाई बर्खास्त गर्दै पेन्टागनमा ठूलो फेरबदल गरेका छन्। यस वर्ष मात्रै नौसेना, तटरक्षक, राष्ट्रिय सुरक्षा एजेन्सी, डिफेन्स इन्टेलिजेन्स एजेन्सीका प्रमुखहरू, वायुसेनाका उप प्रमुख, नाटोमा नियुक्त एडमिरल र तीन वरिष्ठ सैन्य वकिल पदच्युत भइसकेका छन्।
गत मे महिनामा हेग्सेथले जनरल तथा फ्ल्याग अफिसरहरूको सङ्ख्यामा २० प्रतिशत कटौती गर्ने आदेश दिएका थिए। यसअघि फेब्रुअरीमा नागरिक कर्मचारीमा कम्तीमा पाँच प्रतिशत कटौती गर्ने योजना सार्वजनिक गरिएको थियो।
सैन्य अभियानतर्फ, ट्रम्पले हालै लस एन्जलस र वासिङ्टन डीसीमा सेना तैनाथ गर्न आदेश दिएका छन्, जसलाई ‘नागरिक अशान्ति नियन्त्रण’ का नाममा औपचारिकता दिइएको छ। यस्तै कदम अन्य सहरहरूमा पनि विस्तार गर्ने तयारी भएको बताइन्छ। यसअघि उनले क्यारिबियनमा साना डुङ्गाहरूलाई लक्षित आक्रमण गर्न र इरानका आणविक केन्द्रहरू तथा यमनका हुथी विद्रोहीहरूविरुद्ध लामो आक्रमण सञ्चालन गर्न निर्देशन दिएका थिए।
राष्ट्रपतिले आगामी बैठकलाई ‘जनरल र एडमिरलहरूसँग प्रत्यक्ष संवाद गर्ने उत्कृष्ट अवसर’ भन्दै वर्णन गरेका छन्। तर यसैबीच, अमेरिकी सुरक्षा नीति र सैनिक संरचनामा भइरहेको तीव्र फेरबदलले ट्रम्प प्रशासनको प्राथमिकता र त्यसको दीर्घकालीन प्रभावबारे गहिरो प्रश्न उठाइरहेको छ।