कभर स्टोरी

रबि भाई, बाई बाई!

रवि लामिछानेको औपचारिक बिदाई सम्पन्न

रबि भाई, बाई बाई!

काठमाडौं: निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको औपचारिक बिदाई सिंहदरबारस्थित मन्त्रालयमा विशेष कार्यक्रम आयोजना गरी गरिएको छ। गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजीपी वसन्त कुँवर, सशस्त्रका आइजीपी राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सिआइबी प्रमुख श्याम ज्ञवाली लगायतका कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

लामिछाने गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नेकपा एमालेसहितको नयाँ गठबन्धन बनेपछि सरकारमा सहभागी भएका थिए। उपप्रधानमन्त्री र गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा प्रवेश गरेका लामिछानेको करिब चार महिनाको कार्यकाल विवादमुक्त भने रहेन। प्रहरी सरुवा-बढुवामा एकलौटी गरेको आरोप सहितको विवादले उनको कार्यकालमा चर्चा पायो। 

सरकार परिवर्तन भएपनि गृह मन्त्रालयको कामकारवाहीलाई नजिकबाट नियालिरहने उनले बताएका छन्। पत्रकार सम्मेलनमा लामिछानेले अपराध अनुसन्धानमा असर पर्ने आशंका गर्दै गृहसचिव र तीन वटै प्रहरी संगठनका प्रमुखहरुलाई अनुसन्धानमा हस्तक्षेप नगर्न आग्रह गरे। 

लामिछानेले प्रतिपक्षमा बसेर पनि गृह मन्त्रालयका गतिविधिहरूलाई नियाल्ने बताएका छन्। उनले सुरक्षा निकायका प्रमुखहरुलाई नयाँ पुस्ताको आगमनले राज्य संयन्त्रमा जर्बजस्त हस्तक्षेप गर्ने बताउँदै अहिलेको व्यवस्थामा परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

लामिछानेले आफ्नो कार्यकालमा हतारका कारण चोट लागेको भए क्षमा माग्दै प्रहरी कर्मचारीलाई सहयोगका लागि धन्यवाद दिए। साथै, सरकार परिवर्तनको प्रक्रियासँगै कतिपय मुद्दाहरू सामसुम हुन सक्ने आशंका पनि उनले व्यक्त गरे।