कभर स्टोरी

नेपाल प्रहरीमा बढ्दो राजीनामा, ७९२ जनाले राजीनामा दिए

नेपाल प्रहरीमा बढ्दो राजीनामा, ७९२ जनाले राजीनामा दिए

काठमाडौं - नेपाल प्रहरीमा राजीनामा दिने प्रहरीको संख्या बढ्दै गएको छ। गत आर्थिक वर्षमा ७९२ जना प्रहरीले जागिरबाट राजीनामा दिएका छन्, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १५९ जनाले बढी हो। आर्थिक वर्ष २०७९/८० मा ६३३ जनाले राजीनामा दिएका थिए।

गत आर्थिक वर्षमा १८० जना प्रहरीको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ भने ५४४ जनाले अनिवार्य अवकाश लिएका छन्। 

राजीनामा दिनेहरुमा सबैभन्दा धेरै तल्लो तहका प्रहरीहरु छन्। हवल्दार, जवानलगायत दर्जाबाट राजीनामा दिने संख्या ५४५ छ। त्यस्तै, जुनियर प्रहरी अधिकृतको संख्या २३५ र सिनियर प्रहरी अधिकृतको संख्या १२ छ। 

नेपाल प्रहरीका प्रवक्ता डीआइजी दानबहादुर कार्कीका अनुसार, अवसरको खोजीमा प्रहरीहरुले राजीनामा दिने गरेका छन्। 

गएको पाँच वर्षको अवधिमा ६ हजार ९८३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ मा ४९८ जना प्रहरीले राजीनामा दिएका थिए, जसमा सबैभन्दा धेरै प्रहरी जवान दर्जाका थिए। त्यस्तै, दुई जना एसएसपीले पनि यस वर्ष राजीनामा बुझाएका थिए। 

आर्थिक वर्ष २०७७/७८ देखि भने राजीनामा दिने प्रहरीको संख्या घटेको देखिएको छ। उक्त वर्ष ७०३ जना प्रहरीले राजीनामा बुझाएको तथ्यांकले देखाउँछ। जसमा ३७ जना प्रहरी कार्यालय सहयोगी, ७७ जना प्रहरी जवान, ३९६ जना हवल्दार, १४१ जना सहायक निरीक्षक, ४१ जना नायब निरीक्षक र ९ जना प्रहरी निरीक्षक दर्जाका थिए। त्यस्तै, दुई जना प्रहरी नायब उपरीक्षकले पनि राजीनामा दिएका थिए। 

आर्थिक वर्ष २०७६/७७ मा २ हजार ७७ जना प्रहरीले जागिर छाडेको देखिन्छ। जसमा सबैभन्दा धेरै प्रहरी हवल्दार थिए। उक्त वर्ष १ हजार ३ सय २७ जना हवल्दारले राजीनामा दिएको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रेरणाको अभाव र अवसरको खोजीमा रहेको यो प्रवृत्ति नेपाल प्रहरीका लागि चुनौतीपूर्ण बन्दै गएको छ। प्रहरी सेवामा आकर्षण घट्दै जानु र योग्य जनशक्तिको पलायन हुनु भविष्यमा सुरक्षा प्रणालीलाई कमजोर पार्न सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन्।