विदेश

दुर्लभ पिस्तोल लिलामीमा २४.५ करोमा बिक्री!

दुर्लभ पिस्तोल लिलामीमा २४.५ करोमा बिक्री!

 फ्रान्सका सम्राट् नेपोलिअन बोनापार्टको स्वामित्वमा रहेका दुई पिस्तोल १६.९ लाख यूरो (करिब २४.५ करोड नेपाली रुपैयाँ) मा लिलामीमा बिक्री भएका छन्। यी हतियारहरू प्रयोग गरेर उनले आत्महत्या गर्न खोजेको विश्वास छ।

प्यारिसस्थित 'लुई-मारिन गोसे' बन्दुक उत्पादकले निर्माण गरेका यी पिस्तोल १२ लाखदेखि १५ लाख यूरोमा बिक्री हुने अपेक्षा गरिएको थियो। 'ओजनाट अक्शन हाउस' मा यी पिस्तोलको लिलामी गरिएको थियो।

लिलामी गृहले जनाएअनुसार नेपोलिअनले सन् १८१४ मा गद्दी त्याग गरेपछि फोँटेन्ब्लो दरबारनजिकै आत्महत्या गर्ने प्रयास गरेका थिए। 

केही समयअघि, फ्रान्सको संस्कृति मन्त्रालयले यी पिस्तोललाई "राष्ट्रिय सम्पत्ति" घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो। अब यी पिस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ। फ्रान्स सरकारले ती पिस्तोल किन्ने व्यक्तिसँग ३० महिनाभित्र ती हतियार किन्न सक्ने अधिकार राख्छ।

यी पिस्तोल सुन र चाँदीका बुट्टाले सजाइएका छन् र तिनमा नेपोलिअनको मुखाकृति पनि अङ्कित गरिएको छ। 

विदेशी फौजसँग पराजित भएपछि, नेपोलिअन बोनापार्ट सन् १८१४ को एप्रिल १२ को राति ती पिस्तोल प्रयोग गरेर आत्महत्या गर्न खोजेका थिए। तर उनका वरिष्ठ सैन्य अधिकारी आर्माँ ड कोलाँकूरले ती पिस्तोलबाट बारुद हटाइदिएका थिए। त्यसपछि नेपोलिअनले विष सेवन गरे, तर उनको मृत्यु भएन। 

पछि नेपोलिअनले ती पिस्तोल कोलाँकूरलाई दिए, र ती हतियार कोलाँकूरको परिवारको स्वामित्वमा रहँदै आए। 

गत नोभेम्बरमा बोनापार्टको टोपी पनि १९ लाख यूरोमा लिलाम भएको थियो। सन् २०१४ मा पनि नेपोलिअनको अर्को टोपी १९ लाख यूरोमै बिक्री भएको थियो।

नेपोलिअन निर्वासनमा गएपछि सन् १८२१ को मे ५ मा उनको मृत्यु भयो। उनले सेन्ट हेलेना टापुमा ब्रिटिश कारागारमा आफ्नो अन्तिम समय बिताएका थिए। 

नेपोलिअनको जीवनका महत्त्वपूर्ण घटनाक्रममा उनले फ्रान्सको सत्तामा फर्कने प्रयास, वाटरलूको युद्धमा पराजय, र अन्ततः निर्वासनमा बिताएको समय समावेश छन्।