प्रचण्डको प्रभावमा रवि लामिछानेको मुद्दा, अदालतको निर्णयमा त्रुटि: वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रवि लामिछानेसँग सम्बन्धित सहकारी पीडितहरूको मुद्दामा आफूले कुनै वहश नगरेको स्पष्टिकरण दिएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक लामो पोस्ट गर्दै उनले कास्की जिल्ला अदालतमा पेश भएको आफ्नो वकालतनामा सहकारी पीडितहरूको पक्षबाट मात्र रहेको र रवि लामिछानेको पक्षबाट कुनै पनि वहश नगरेको प्रष्ट पारेका छन्।
श्रेष्ठले लेखेका छन्, “मैले पीडितहरूको तर्फबाट वकालतनामा पेश गरेको भए पनि ‘सत्य र न्यायको खोजी अभियान’ का अन्य कामहरूमा व्यस्त भएकाले म अदालतमा उपस्थित हुन सकिनँ। पीडितहरूको तर्फबाट वहश गर्न अधिवक्ता हरि कट्टेल पोखरा गएका थिए।”
उनले रवि लामिछानेको तर्फबाट आफूले वहश गरेको भन्ने कुरा गलत रहेको र अदालतले यसबारे सही जानकारी दिनुपर्ने बताए। “रवि लामिछानेको तर्फबाट मेरो नाम किन र कसरी वहश गर्ने वकीलहरूमा उल्लेख भयो, त्यो स्पष्ट हुनुपर्छ। अदालतले यसबारे जानकारी दिन जरुरी छ,” उनले भने।
राजनीतिक र कानूनी दृष्टिकोण
श्रेष्ठले रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भूमिकालाई पनि कडा आलोचना गरेका छन्। उनले लामिछानेलाई ठगवन्धनकारी दलहरूको आयु बढाउन तल्लीन रहेको आरोप लगाउँदै भने, “लामिछानेले प्रचण्ड, ओली, र देउवाजस्ता नेताहरूलाई समर्थन गर्दै ठगवन्धनकारी गतिविधिमा सहभागी भए।”
श्रेष्ठले अवैधानिक प्रधानन्यायाधीशको नियुक्ति, ललिता निवास प्रकरणमा मुद्दा दर्ता नगर्ने निर्णय, र राष्ट्रिय परिचयपत्रको ठेक्का विदेशी कम्पनीलाई दिने निर्णयमा लामिछानेको भूमिकामाथि प्रश्न उठाएका छन्। “रास्वपाले जनताको विश्वासको अनादर गरेको छ,” उनले भने।
सहकारी प्रकरण र कानूनी प्रक्रिया
श्रेष्ठले सहकारी पीडितहरूको पक्षबाट मात्र वकालतनामा दर्ता भएको र समयाभावका कारण अदालतमा उपस्थित हुन नसकेको बताए। उनले रवि लामिछानेको तर्फबाट वहश गर्न कल्पना पनि नगरेको स्पष्ट पारे। “मैले सधैं पीडितहरूको हकका लागि लड्ने काम गरेको छु,” उनले भने।
उनले रवि लामिछानेविरुद्धको आदेश सन्तुलित रहेको तर अदालतबाट केही त्रुटि भएको हुनसक्ने बताएका छन्। “प्रचण्डको दबाबका बावजूद न्यायाधीशले सन्तुलित आदेश दिएका छन्, तर यसमा केही गल्ती भएको हुनसक्छ,” उनले थपे।
समाप्ति
वरिष्ठ अधिवक्ता श्रेष्ठले पीडितहरूको हकहितको रक्षा गर्दै रवि लामिछानेको पक्षबाट आफूले कुनै पनि कानूनी पैरवी नगरेको पुनः स्पष्ट पारेका छन्। उनले अदालत र सर्वसाधारणलाई यथार्थ बुझिदिन अपिल गर्दै पीडितहरूको न्यायका लागि आफू सधैं तयार रहेको जनाएका छन्।
रवि लामिछानेको मुद्दामा भएको कास्की जिल्ला अदालतको आदेशमा मेरो स्पष्टिकरणः
गेविन्द अधिकारीसहितका सहकारी पीडित जाहेरवालाहरूका तर्फबाट वहश पैरवीका लागि वकालतनामा पेश गरेको भए तापनि, अभियानका तर्फबाट हेर्नुपर्ने सार्वजनिक सरोकारका मुद्दाहरूमा व्यस्त हुनु परेको कारणले गर्दा म कास्की जिल्ला अदालतमा उपस्थित हुन सकिनँ। त्यसकारण, अभियानको नेतृत्व गर्दै अधिवक्ता हरि कट्टेल मुद्दाको वहशका लागि पोखरा जानु भयो, र उहाँले वहश पनि गर्नुभएको थियो।
म र हाम्रो “सत्य र न्यायको खोजी अभियान” ३५ वर्षसम्म देश लुट्ने ठगवन्धनकारी दलहरूको वैकल्पिक शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहन सक्छ र हुनुपर्छ भन्ने मान्यताअनुरूप चुनावताका लागेको थियौँ। सरकार गठनमा रवि लामिछाने सहभागी भएपछि ठगवन्धनकारी दलहरूले गरेका कुकृत्यहरूको उत्खनन् गरी संसदभित्र घेरा हाल्ने र हामीले बाहिरबाट कानूनी घेरा कस्दै जाँदा सरकारलाई अपदस्त गर्न सकिने अवस्था सिर्जना गर्न सकिने हाम्रो मान्यता थियो, छ, र हामी त्यस्कै लागि संघर्षरत छौँ।
तर, जब रवि लामिछाने सरकारमा सामेल भए, ठगवन्धनकारीहरूको आयु बढाउने गरी कहिले प्रचण्ड, कहिले ओली, त कहिले देउवालाई काँध हाल्न तल्लीन मात्र भएनन्, तिनका कारण अवैधानिक रूपमा प्रधान न्यायाधीशहरूको नियुक्ति भयो। (अहिलेका प्रधान न्यायाधीशको नियुक्ति पनि अवैध नै छ। यो विषयमा मैले पुस १८ गते पेश गरेको रिट निवेदन अझै दर्ता गरिएको छैन।) साथै, ललिता निवासको जग्गा हडप्ने माधव कुमारलाई मुद्दा नचलाउने निर्णयमा समर्थन गर्ने रास्वपा, रवि लामिछानेको दोहोरो राहदानी मुद्दा नचलाउने सरकारको निर्णयमा थपडी बजाउने रास्वपा, र आम नागरिकलाई प्रताडित गर्ने राष्ट्रिय परिचयपत्र तथा पंजीकरण ऐन २०७६ को कार्यान्वयनमा रवि लामिछानेकै भूमिकाले यस्तो अवस्था आएको हो।
त्यसैले, रास्वपा राजनीतिक धर्म र अनुशासन भएको दल होइन भन्ने हाम्रो निर्णयमा हामी पुगेका छौँ। सहकारी प्रकरणको मुद्दामा रवि लामिछाने संलग्न भए नभएको विवाद पछि उठेको हो। यसमा संलग्नता भए नभएको जानकारी नहुँदै हामीले रास्वपाको वैठकमा सरकारबाट बाहिरिएर घेराबन्दी गरौँ भन्ने निर्णय गरिसकेका थियौँ।
सहकारी रकम अपचलन मुद्दामा रवि लामिछानेका तर्फबाट वकालत गर्ने कल्पनासमेत मबाट हुन सक्दैन। म सधैँ पीडितहरूको हकका लागि लड्ने मान्छे हुँ। त्यसैले पीडितकै तर्फबाट पैरवी गर्न पठाएको वकालतनामा अदालतमै दर्ता भइसकेको अवस्थामा कसरी रवि लामिछानेको तर्फबाट वहश गर्ने वकीलहरूमा मेरो नाम उल्लेख गरियो, त्यो अदालतले स्पष्ट गर्नु जरुरी छ।
प्रचण्डको दबाबका बावजुद सन्तुलित आदेश गर्ने न्यायाधीशबाट यस्तो गल्ती हुनु नपर्ने हो। तर, किन र कसरी यस्तो गल्ती भयो, स्पष्ट हुनुपर्छ।
म सबैलाई यो स्पष्टिकरण दिन चाहन्छु कि मैले रवि लामिछानेको तर्फबाट वहश गरेको छैन। यो झुटो हो। पीडितहरूको तर्फबाट वहश गर्ने भनेर वकालतनामा पठाए पनि समय अभावका कारण पोखरा जान नसकेका कारण पीडितकै पक्षमा पनि वहशमा उपस्थित हुन सकिनँ। मेरो वकालतनामा र आदेश खण्ड हेरेर यथार्थ बुझिदिनुहोला।
वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ