देशलाई आर्थिक संकटबाट जोगाउने उपाय : संघीय हिन्दू गणतन्त्रको घोषणा अनिवार्य!
पर्सा जिल्लाको जीरा भवानी गाउँपालिकामा संघीय हिन्दू गणतन्त्रको आवश्यकता र महत्वबारे राष्ट्रिय एकता अभियानद्वारा विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। समाजसेवी बिकाऊ प्रसाद भण्डारी (थारू)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिको रूपमा सहभागी थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भने, "देश आर्थिक संकटमा छ। दुई सय करोड हिन्दूहरूको आस्थाको देशका रूपमा नेपाललाई संघीय हिन्दू गणतन्त्र घोषणा गरियो भने धार्मिक पर्यटनको विकासले मात्र देशलाई आर्थिक संकटबाट जोगाउन सकिन्छ।" उनले धर्मनिरपेक्षताका नाममा देशमा बढ्दो जिहादी गतिविधिबाट उत्पन्न समस्या र सोझा नेपाली मुस्लिम समुदायलाई दुरुपयोग गरिरहेको खतरा औंल्याउँदै यस्ता गतिविधि नियन्त्रण गर्न राज्यले कडा कदम चाल्नुपर्ने धारणा राखे।
छलफलमा स्थानीय नेताहरू राजेश यादव, देव यादव, नरेश राउत थारू, जयनारायण दास थारू, शिव शंकर दास थारू लगायतले आफ्नो मन्तव्य राख्दै धार्मिक, सांस्कृतिक र सामाजिक एकताको महत्वबारे प्रकाश पारे। वक्ताहरूले राष्ट्रिय एकता अभियानले देशको विकास र स्थिरतामा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।
कार्यक्रमको अन्त्यमा अध्यक्ष भण्डारीले उपस्थित सबैलाई धन्यवाद दिँदै अभियानका लक्ष्य हासिल गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरे। छलफलले संघीय हिन्दू गणतन्त्रको अवधारणा प्रचार-प्रसार गर्न र अभियानलाई थप सशक्त बनाउने रणनीतिहरूको रूपरेखा तयार पारेको थियो।