बालबालिकाको ज्यान लिने खोकीको औषधि!

भारतका विभिन्न राज्यहरूमा खोकीको औषधि ‘कफ सिरप’ सेवनपछि बालबालिकाको मृत्यु भएको घटनापछि नेपालमा पनि औषधि व्यवस्था विभागले आम उपभोक्ता, चिकित्सक, औषधि उत्पादक, आयातकर्ता र फार्मेसीहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले मंगलबार जारी गरेको सूचनामा ‘कोल्डरिफ कफ सिरप’ नामक औषधि सेवनपछि भारतका केही राज्यहरूमा बालबालिकाको मृत्यु भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ। विभागका अनुसार उक्त औषधि भारतको Sresen Pharma नामक कम्पनीले उत्पादन गरेको हो, तर सो कम्पनी र यसको उत्पादन नेपालमा दर्ता नभएको स्पष्ट गरिएको छ।
विभागका अधिकारीहरूले यस्ता घटनाहरू विगतमा पनि दोहोरिएको स्मरण गर्दै औषधि उत्पादन वा आयातका क्रममा प्रयोग गरिने कच्चा पदार्थमा ‘इथिलीन ग्लाइकोल’ र ‘डाइइथिलीन ग्लाइकोल’ नामका रासायनिक पदार्थ मिसावट नभएको सुनिश्चित गर्न सबै उद्योगलाई निर्देशन दिएका छन्। यी दुवै रसायन शरीरका लागि अत्यन्त हानिकारक मानिन्छन्, जसको उच्च मात्रा सेवनले कलेजो र मिर्गौलामा क्षति पुर्याउन सक्छ।
सूचनामा भनिएको छ, “नेपालमा झोल बनावटका औषधि उत्पादन वा आयात गर्ने सबै उद्योगहरूले प्रयोग गरिने प्रोपाइलिन ग्लाइकोल, पोलिइथिलिन ग्लाइकोल, सोर्बिटोल वा ग्लिसरोलजस्ता कच्चा पदार्थहरूको गुणस्तर परीक्षण अनिवार्य गर्नुपर्छ।” विभागले सन् २०२२ (२०७९ मंसिर १२) र सन् २०२५ (२०८२ साउन २१) मा यससम्बन्धी प्राविधिक निर्देशिका पहिले नै प्रकाशित गरिसकेको स्मरण गराएको छ।
विभागले औषधि उत्पादकहरूलाई आधिकारिक आपूर्तिकर्ताबाट मात्र फर्माकोपियल गुणस्तरका कच्चा पदार्थ खरिद गर्न, आयातकर्तालाई प्रत्येक ब्याच परीक्षण गरी मिसावट नभएको प्रमाणित भएपछि मात्र बजारमा पठाउन, र फार्मेसीहरूले विभागमा दर्ता भएका औषधि मात्र बिक्री गर्न निर्देशन दिएको छ।
त्यस्तै चिकित्सकहरूलाई दुई वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई खोकीको औषधि सिफारिस गर्दा वैज्ञानिक प्रमाणका आधारमा मात्र गर्न अनुरोध गरिएको छ। सर्वसाधारणलाई भने चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्न, विभागमा दर्ता नभएका औषधि नकिन्न, र औषधिको लेबलमा उल्लेखित जानकारी अनुसार मात्र सेवन गर्न आग्रह गरिएको छ।
नेपालमा औषधि बजार निरन्तर विस्तार भइरहेका बेला विभागको यो सचेतना अपिल बालबालिका र उपभोक्ताको स्वास्थ्य सुरक्षाका दृष्टिले महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार समयमै गुणस्तर परीक्षण र निगरानी बलियो बनाइएमा यस्ता दुर्घटना रोक्न सकिने सम्भावना उच्च छ।