कभर स्टोरी

भारतका मन्त्री सगरमाथाको काखमा: भूपेन्द्र यादवको नेपाल यात्रा जलवायु र सभ्यता संरक्षणको नयाँ सन्देश!

भारतका मन्त्री सगरमाथाको काखमा: भूपेन्द्र यादवको नेपाल यात्रा जलवायु र सभ्यता संरक्षणको नयाँ सन्देश!

जब हिमाल हराउँदैछन् र भविष्य अनिश्चित देखिन थाल्छ, त्यतिबेला भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री श्री भूपेन्द्र यादव नेपालको तीनदिने औपचारिक भ्रमणमा आए — कागजी प्रतिवद्धता होइन, मानवीय संवेदनासहितको सन्देश लिएर।

नेपाल सरकारले आयोजना गरेको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ भन्ने मूल नारामा आधारित सगरमाथा संवाद को पहिलो संस्करणमा भाग लिन यादव २०८२ जेठ १ देखि ३ सम्म काठमाडौंमा रहनुभएको हो। सगरमाथा संवाद विश्वव्यापी छलफल मञ्च हो, जहाँ वातावरणीय मुद्दा केवल नीति होइन, जीवन र अस्तित्वको सवाल हो।

यादवले उद्घाटन समारोहमा भारतको प्रतिनिधित्व गर्दै हिमाली देशहरूबीच वातावरण संरक्षणका लागि गहिरो सहकार्यको आवश्यकता औंल्याए। उहाँको भाषणमा भारतको प्रतिवद्धता मात्र होइन, एकछिन सगरमाथाको छायाँमा उभिएको साझा भविष्यको अभिव्यक्ती झल्किन्थ्यो।

भ्रमणकै क्रममा यादवले नेपालका वन तथा वातावरण मन्त्रीसँग द्विपक्षीय वार्ता गर्नुभयो। छलफलमा वातावरणीय पहलहरूको समीक्षा हुँदै आगामी सहकार्यका नयाँ बाटोहरू खोजिए।

विदेशमन्त्री डा. अर्जु राणा देउवासँगको भेटमा पनि भारत–नेपालबीच जलवायुको क्षेत्रमा सहकार्य बलियो बनाउने विषयमा अर्थपूर्ण छलफल भयो। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटमा भने इतिहास, संस्कृति, सभ्यता र जन–जनको सम्बन्ध झल्काउने आत्मीय कुराकानी भयो। यादवले भारत सरकारको तर्फबाट अभिवादन दिँदै सगरमाथा संवाद सफलतापूर्वक आयोजना गरेकामा नेपाललाई बधाई दिएका थिए।

उच्चस्तरीय भेटघाटबीच यादवले ललितपुरस्थित पाटन दरबार स्क्वायर नजिकैको अदालत भवन र श्री जेष्ठ वर्ण महाविहार पनि अवलोकन गर्नुभयो — ती दुई परियोजना जुन भारत सरकारले २०७२ को विनाशकारी भूकम्पपछि पुनर्निर्माणका लागि सहयोग गर्दै आएको छ।

भूपेन्द्र यादवको यो भ्रमण सादा शिष्टाचार मात्र थिएन। यो एउटा सन्देश थियो — कि जलवायु परिवर्तन विरुद्धको लडाइँ संयुक्त हुनुपर्छ, र दुई पुराना मित्रराष्ट्रबीचको सम्बन्ध केवल शब्दमा होइन, कार्यमा देखिनुपर्छ।