भारतको 'सुसाइड ड्रोन' लाहोरमा! 'अपरेसन सिन्दूर'को रहस्य, पहलगामको भीषण बदला?

काठमाडौं/नयाँ दिल्ली – भारत र पाकिस्तानबीच तनाव चरम विन्दुमा पुगेको छ। भारतले, पाकिस्तानले "अत्ति गरेपछि" इजरायलमा निर्मित 'हारोप सुसाइड ड्रोन' प्रयोग गरी लाहोरस्थित एक मिसाइल अखडामा निशाना बनाएको भारतीय रक्षा मन्त्रालयले पुष्टि गरेको छ। यो घटना, गत अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको बर्बर आतंकवादी हमलापछिको भारतको व्यापक प्रतिशोधात्मक कारबाही, 'अपरेसन सिन्दूर' को एक अंशको रूपमा हेरिएको छ, जसमा एक नेपालीसहित २६ निर्दोष पर्यटकहरूको ज्यान गएको थियो।
'सुसाइड ड्रोन' भनेर चिनिने हारोप ड्रोन १,००० किलोमिटर टाढासम्म पुगेर लक्ष्यमा आफैं ठोक्किएर विस्फोट हुन सक्छ र यसलाई मुख्यतः शत्रुका रेडार र एयर डिफेन्स प्रणालीहरूलाई ध्वस्त पार्न डिजाइन गरिएको हो। यो ड्रोन ६ घण्टासम्म आकाशमा लक्ष्यको खोजीमा रहन सक्ने र उच्च विस्फोटक क्षमता भएको बताइएको छ।
यसैबीच, भारतीय विदेश सचिव विक्रम मिश्रीले बिहीबार नयाँ दिल्लीमा एक विशेष पत्रकार सम्मेलन गर्दै 'अपरेसन सिन्दूर' बारे विस्तृत जानकारी दिनुभएको छ। उहाँले पहलगाममा भएको आक्रमणलाई "चरम बर्बरतापूर्ण" भन्दै, जहाँ पीडितहरूलाई परिवारकै अगाडि नजिकबाट टाउकोमा गोली हानी हत्या गरिएको थियो, त्यसले भारतभर गहिरो आक्रोश पैदा गरेको बताउनुभयो। विदेश सचिवले भन्नुभयो, "त्यो आक्रमण जम्मू-कश्मीरमा फर्किरहेको सामान्य अवस्थालाई बिगार्ने र विशेषगरी पर्यटन अर्थतन्त्रलाई ध्वस्त पार्ने उद्देश्यले गरिएको थियो।" आक्रमणको जिम्मेवारी लिने 'द रेजिस्टेंस फ्रन्ट' (TRF) लाई लश्कर-ए-तैयबाको देखावटी संगठन भएको उहाँले दाबी गर्नुभयो।
विदेश सचिव मिश्रीले अप्रिल २२ को हमलापछि पाकिस्तानले आतंकवादी पूर्वाधारविरुद्ध कुनै कदम नचालेको र उल्टै अस्वीकार र आरोपमा मात्र लागेको बताउनुभयो। "हाम्रो गुप्तचर अनुगमनले भारतविरुद्ध थप हमलाहरू हुन लागेको संकेत गरेको थियो, त्यसैले त्यस्ता हमलाहरूलाई रोक्न र निरुत्साहित गर्न यो कारबाही (अपरेसन सिन्दूर) अनिवार्य थियो," उहाँले स्पष्ट पार्नुभयो।
बुधबार बिहान (मे ७) गरिएको 'अपरेसन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका नौ वटा "आतंकवादी पूर्वाधार" माथि हमला गरिएको जानकारी दिँदै विदेश सचिवले यी कारबाहीहरू "मापनयोग्य, गैर-तनावपूर्ण, समानुपातिक र जिम्मेवारपूर्ण" भएको र पाकिस्तानी सैन्य अखडाहरूलाई निशाना नबनाइएको दाबी गर्नुभयो। उहाँले पाकिस्तानले नागरिक क्षेत्र र धार्मिक स्थलमा हमला भएको भनी लगाएको आरोपको खण्डन गर्दै, उल्टै पाकिस्तानले नै आतंकवादीहरूलाई राज्यस्तरमा अन्त्येष्टि गर्ने र धार्मिक स्थलहरूलाई आतंकवाद फैलाउन दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो। विदेश सचिवले पाकिस्तानको पछिल्लो गोलाबारीबाट १६ सर्वसाधारण मारिएको र ५९ घाइते भएको पनि बताउनुभयो।
सिन्धु जल सन्धिबारे बोल्दै उहाँले बदलिँदो परिस्थिति र पाकिस्तानले सीमापार आतंकवादलाई निरन्तर सहयोग गरेकाले भारतले सन्धि स्थगन गर्न बाध्य भएको स्पष्ट पार्नुभयो।
यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले पनि नयाँ दिल्लीमा इरानी विदेशमन्त्रीसँगको भेटमा भारतले पहलगाम हमलाको जवाफ दिएको र आफ्नो प्रतिक्रिया लक्षित एवं उद्देश्यपूर्ण रहेको बताउनुभएको छ। उहाँले स्थितिलाई नबिगार्ने भारतको मनसाय भए पनि, यदि भारतमाथि कुनै सैन्य आक्रमण भएमा त्यसको "अत्यन्तै कडा जवाफ" दिइने चेतावनी दिनुभयो।