कभर स्टोरी

‘अब मध्यस्थताको कुरा नगर्नू’—ट्रम्पलाई मोदीको ठाडो जवाफ!

भारतका विदेश सचिव मिश्रद्वारा मोदी–ट्रम्प संवादको खुलासा : ‘अपरेसन सिन्धूर’ निरन्तर, आतंककारीमाथि प्रहार जारी

‘अब मध्यस्थताको कुरा नगर्नू’—ट्रम्पलाई मोदीको ठाडो जवाफ!

नयाँ दिल्ली— भारतका विदेश सचिव विक्रम मिश्रिले आज प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको टेलिफोन संवादबारे विस्तारमा पत्रकारहरूलाई जानकारी गराएका छन्। पछिल्लो समय पहलगाममा भएको आतंकी हमलापछि भारतले सुरु गरेको ‘अपरेसन सिन्धूर’को सन्दर्भमा भएको यो संवाद दक्षिण एसियाली सुरक्षा परिवेशका लागि गम्भीर सन्देश बोकेको देखिएको छ।

विदेश सचिव मिश्रिका अनुसार, दुवै नेताहरूबीचको भेट मूलतः G7 सम्मेलनको साइडलाइनमा तय भएको थियो। तर, आकस्मिक कारणले राष्ट्रपति ट्रम्प समयमै अमेरिकातर्फ फर्कनु परेकाले उक्त प्रत्यक्ष भेट सम्भव भएन। त्यसपछि राष्ट्रपति ट्रम्पकै अनुरोधमा करिब पैंतीस मिनेट लामो टेलिफोन संवाद भएको हो।

विदेश सचिव मिश्रिले भने, “पहलगाम आतंकी आक्रमणपछिको पीडामा राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीलाई शोक सन्देशसहित भारतप्रति ऐक्यबद्धता जनाउनु भएको थियो। त्यसपछि आज भएको यो विस्तृत संवादले दुवै देशबीचको रणनीतिक सहकार्यलाई थप मजबुत बनाएको छ।”
प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई ‘अपरेसन सिन्धूर’का उद्देश्य र उपलब्धिबारे खुलस्त धारणा राखेको बताइएको छ। “२२ अप्रिलपछिको परिप्रेक्ष्यमा भारतले आतंकवाद विरुद्ध दृढ संकल्प सार्वजनिकरूपमा विश्वसामु प्रकट गरेको छ,” मिश्रिले प्रधानमन्त्री मोदीको भनाइ उद्धृत गर्दै बताए। प्रधानमन्त्री मोदीले पाकिस्तान र पाकिस्तान-नियन्त्रित कश्मीरका आतंकी आधारशिविरमाथि भारतले ६ मेको रातमा लक्ष्यित, सटीक तथा संयमित कारवाही गरेको स्पष्ट पार्नुभएको थियो।

मिश्रिका अनुसार, भारतको कारवाही अस्पष्ट र अविवेकी थिएन; बरु, आतंकवादी पूर्वाधारमाथि मात्र केन्द्रित थियो। पाकिस्तानबाट कुनै नयाँ आक्रमणको प्रयास भए भारतले अझ बलियो जवाफ दिने चेतावनी प्रधानमन्त्रीले ट्रम्पलाई सुनाए।
९–१० मेको रात पाकिस्तानबाट भएको आक्रमणको भारतले शक्तिशाली जवाफ दियो, जसले पाकिस्तानका थुप्रै सैन्य हवाई आधारहरू अक्षम बनायो। यो निर्णायक प्रतिरोधपछि पाकिस्तान आफैंले सैन्य च्यानलमार्फत भारतसँग कारवाही रोक्न आग्रह गर्नुपर्‍यो। विदेश सचिव मिश्रिले प्रष्ट पारे, “यस घटनाक्रमका क्रममा कुनै पनि स्तरमा भारत–अमेरिका व्यापार सम्झौता, वा भारत–पाकिस्तानबीच मध्यस्थता जस्ता विषयमा वार्ता भएको थिएन। रोकथामसम्बन्धी सम्पूर्ण वार्ता दुवै देशका सेनाबीच सीधा च्यानलबाट, पाकिस्तानको अनुरोधमा भएको हो।”
मिश्रिले थपे, “भारतले न त अहिलेसम्म मध्यस्थता स्वीकार गरेको छ, न त भविष्यमा कहिल्यै गर्नेछ। यस विषयमा भारतमा पूर्ण राजनीतिक एकमत छ।”

विदेश सचिव मिश्रिले राष्ट्रपति ट्रम्पले भारतको नीति र मोदीको तर्कलाई बुझी आतंकवाद विरुद्धको लडाइँमा भारतलाई साथ दिने प्रतिबद्धता दोहोर्‍याएको बताए। प्रधानमन्त्री मोदीले आतंकवादलाई अब केवल ‘प्रोक्सी वार’ नभएर ‘युद्ध’कै रूपमा लिने स्पष्ट धारणा राख्दै ‘अपरेसन सिन्धूर’ अझै जारी रहेको बताए। भारतीय सेनाले आतंकी समूहहरूको संरचनामाथि निरन्तर प्रहार गरिरहेको मिश्रिले जानकारी दिए।

यस संवादमा विश्व राजनीतिको अर्को संवेदनशील विषय इजरायल–ईरान द्वन्द्व पनि समेटिएको थियो। दुवै नेताले सीधा संवादमार्फत क्षेत्रीय शान्तिको प्रयास आवश्यक रहेकोमा सहमति जनाए। राष्ट्रपति ट्रम्पले क्यानाडाबाट फर्किने क्रममा अमेरिकामा केही समय रोक्न सक्ने इच्छा व्यक्त गरेका थिए, तर पूर्वनिर्धारित कार्यतालिका व्यस्त रहेकाले प्रधानमन्त्री मोदीले असमर्थता जनाए। साथै, प्रधानमन्त्री मोदीले राष्ट्रपति ट्रम्पलाई भारत भ्रमणको निमन्त्रणा दिए, जसलाई ट्रम्पले स्वीकार्दै छिट्टै भारत आउने उत्सुकता व्यक्त गरेका छन्।

विदेश सचिव मिश्रिद्वारा दिइएको यो विवरणले भारत–अमेरिका कूटनीतिक सम्बन्ध अझ प्रगाढ बनाएको छ। भारतको तर्फबाट सन्देश एकदमै स्पष्ट छ : ‘अपरेसन सिन्धूर’ तबसम्म जारी रहनेछ, जबसम्म सीमा पारका आतंककारी खतरा पूर्णरूपमा अन्त्य हुँदैनन्। भारतका लागि राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयमा बाह्य मध्यस्थता स्वीकार्य छैन।
क्षेत्रमा अझै असहजता कायम रहँदा, भारत नेतृत्वको अडान र दृढताले आतंकवाद विरुद्धको संघर्ष टुंगिएको छैन भन्ने सन्देश दिएको छ, अनि दिल्ली–वाशिंगटन संवाद अझ खुला र बलियो बनिरहने देखिन्छ।