डा. रेग्मीको चेतावनी: “दशैंमा बासी मासु, रक्सी र चिल्लो परिकार घातक हुनसक्छ”:डा. रेग्मीको चेतावनी

दशैंको पर्व नजिकिँदै गर्दा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मासु सेवनका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने चेतावनी दिनुभएको छ। उहाँका अनुसार चाडपर्वमा खानपानमा सन्तुलन नमिल्दा रक्तचाप एकाएक १८०–२०० सम्म पुग्न सक्छ, जसले मुटु, आँखा र मस्तिष्कलाई प्रभावित पारेर आकस्मिक अवस्थामा इमर्जेन्सीमा पुर्याउन सक्ने खतरा रहन्छ।
डा. रेग्मीका अनुसार दशैंमा बढी प्रयोग हुने रातो मासु (रेड मिट)मा उच्च मात्रामा कोलेस्ट्रोल, चिल्लो र नुन पाइने भएकाले यसको अत्यधिक सेवनले मुटुमा लोड बढाउने, युरिक एसिड वृद्धि गर्ने, जोर्नी दुख्ने र बाथको समस्या निम्त्याउने गर्छ। उनले विशेष गरी खसीको रगत वा भित्री अङ्गहरू अस्वस्थकर रूपमा पकाएर खाने प्रचलनलाई स्वास्थ्य जोखिमसँग जोड्दै नुन र मसालाको अत्यधिक प्रयोग नगर्न आग्रह गर्नुभयो।
उनले दशैंमा मासु धेरै पकाएर दिनौँसम्म तताएर खाने बानीलाई पनि हानिकारक बताउँदै, बासी मासुले अपच, पित्तथैलीको पत्थरी सक्रिय हुनु वा पेटमा कडा दुखाइ निम्त्याउन सक्ने उदाहरण प्रस्तुत गरे। त्यस्तै, रक्सी र कोल्ड ड्रिंकसँग मासु सेवनले मुटुको धड्कन अनियमित बन्ने, श्वासप्रश्वासमा समस्या देखिने र गम्भीर अवस्थामा हार्ट फेल वा स्ट्रोक समेत हुन सक्ने चेतावनी दिनुभयो।
डा. रेग्मीले मासु सेवन गर्दा सधैं ताजा र सफा मासु छनोट गर्न, छाला वा अत्यधिक चिल्लो हटाउन, सन्तुलित मात्रामा फलफूल र सागसब्जीसँग सेवन गर्न र शारीरिक गतिविधि गर्न सुझाव दिनुभयो। विश्व स्वास्थ्य संगठनले समेत आहार र जीवनशैलीलाई स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष जोडेको स्मरण गराउँदै उनले चाडपर्वमा “मोजमस्तीलाई स्वास्थ्य–सचेत आचरणसँग सन्तुलित गर्न सकियो भने दशैं आनन्द र दीर्घकालीन स्वास्थ्य दुवै सुरक्षित हुन्छ” भन्ने सन्देश दिएका छन्।